हरिश्चन्द्र बाग, कञ्चनपुर, २० असोज । कञ्चनपुरको बेलौरीमा युवा तथा कृषकहरुका लागि आइपिएममा आधारित तीन महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा निड्स नेपालले उक्त तालिम सञ्चालन गरेको हो । उक्त तालिममा बेलौरीका २० जना युवा तथा कृषक प्रशिक्षार्थीहरु रहेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ ।
बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवर्धन परियोजना अन्तर्गक कञ्चनपुरको बेलौरीमा आइपिएममा आधारित युवा तथा कृषकहरुका लागि तीन महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको हो । अहिले कञ्चनपुर, कैलाली र बझाङ जिल्ला गरी सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा उक्त कार्यक्रम सञ्चालनमा रहेको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभएको छ ।
कृषकलाई दक्ष बनाउने, स्वच्छ बाली हुर्काउने, रसायनिक विषादीको प्रयोग कम गर्ने, शत्रु जीव व्यवस्थापन र मित्र जीवको संरक्षण गर्ने पद्दतीमा आइपिएम तरकारी खेतीलाई प्रवर्धन गरिएको बताइएको छ । आइपिएम पद्दतीमा आधारित रहेर स्वच्छ बाली उत्पादनलाई बेलौरी नगरपालिका कृषि विकास शाखाले समेत प्राथमिकतामा राखेको बेलौरी नगरपालिका, कृषि विकास शाखाका प्रमुख सुमन राज जोशीको भनाइ छ ।
अहिले कोभिड १९ को महामारीका कारण अधिकांश युवाहरुले रोजगारी गुमाएको अवस्था छ । उक्त परिस्थितिलाई पनि सामान्य अवस्थामा ल्याउन व्यवसायिक कृषि पेशामा स्थानीय सरकारले समेत जोड दिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।
बेलौरी नगरपालिकाले कृषि, पशु र अन्य विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । यद्यपि लक्षित समुदायले प्राप्त गरेको उपलब्धीलाई मुल्यांकन गर्ने बेला भएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको भनाइ छ । समयसमयमा विभिन्न तालिमहरु सञ्चालन गरिएपनि ले व्यवहातालिममा सिकेका विषयवस्तुलाई अधिकांशरमा लागु नगरेको नगरपालिकाको निष्कर्ष छ ।
निड्स नेपालले सञ्चालन गरेको तीन महिने तालिमबाट सिकेका विषयवस्तुहरुलाई दैनिक जीवनमा प्रयोग गर्न सके जीविकोपार्जनमा सहज हुने निड्स नेपालका सहसचिव दुर्गा खरेलको अपेक्षा रहेको छ । पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएका छन् । ती तालिममा सहभागी भएका व्यक्तिहरुले सीपको सदुपयोग गरेमा मात्रै पनि केही हदसम्म बेरोजगारी समस्या कम हुने देखिन्छ ।