हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असोज । कञ्चनपुरको बेलौरी नगरपालिकाले ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहीबार नगर क्षेत्र भित्रका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । बेलौरी नगरपालिका भित्र रहेका दश वटै वडाहरूका २० जना जेष्ठ नागरिकहरूलाई छनौट गरी सम्मान गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो ।
एक जना महिला र एक जना पुरुष गरी प्रत्येक वडाबाट दुई जना वयोवृद्धहरूलाई उहाँहरूकै घरघरमा गई सम्मान पत्र, दोसल्ला, जुस र फलफूल वितरण गरिएको बताइएको छ । विगतका वर्षहरूमा औपचारिक कार्यक्रम गरिने गरेको भएपनि यस वर्ष कोभिड १९ को जोखिमका कारण घरघरमा गई सम्मान गरिएको नगर उपप्रमुख चित्र कुमारी चौधरीले जानकारी दिनुभएको छ ।
कोभिड १९ संक्रमणको बीचमा पनि जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम स्वागतयोग्य रहेको जेष्ठ नागरिक समाज बेलौरीका अध्यक्ष अर्जुन न्यौपानेले उल्लेख गर्नुभयो । उहाँले सम्मानित हुने व्यक्तिहरुको संख्या थप्दै जानुपर्ने सुझाव समेत दिनुभयो । त्यस्तै, जेष्ठ नागरिकहरु समाजका अभिभावक भएकोले उहाँहरूको सदैव सम्मान गर्नुपर्ने वडा नम्बर ३ का वडाध्यक्ष नेत्रराज गिरीको भनाइ छ ।
बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त कार्यक्रमको संयोजन गरेको महिला विकास निरीक्षक पार्वती भट्टले बताउनु भयो । उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरी, नगर प्रवक्ता विनोद नेपाली, सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारी लगायत सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बेलौरी नगरपालिकाद्वारा जेष्ठ नागरिकहरूलाई सम्मान सम्बन्धी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/watch/?v=333607911395061