हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ भदौ । कञ्चनपुरको बेलडाँडीमा एकजना १५ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको छ । बेलौरी घरभई करीब २ वर्ष देखि बेलडाँडी स्थित मामाको घरमा बस्ने बालिकालाई ५ दिनसम्म घरपरिवार र आफन्तको सम्पर्क बाहिर राखी सामुहिक रूपमा बलात्कार भएको पीडित पक्षको दाबी छ ।
पीडित पक्षका अनुसार, यही भदौ १४ गते बालिकालाई अपहरण गरी भदौ १९ गतेसम्म यौन शोषण गरेको देखिन्छ । बालिका सम्पर्क बिहिन भएको पाँचौं दिन बालिकाका मामाले इलाका प्रहरी कार्यालय बेलडाँडीमा आफ्नी भान्जीको खोजी गरिदिन निवेदन दिएपछि भदौ १९ गते बालिका सहित २ जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यद्यपि बालिकालाई घटनाबारे सामान्य सोधपुछ गर्दा बालिकाले आफुमाथी कुनैपनि घटना नभएको र आफू सुरक्षित रहेको बयान दिएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । सोही समयमा तीनैजनाको मापसे समेत जाँच गरेर बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको थियोे भने अन्य दुई जना युवकहरूलाई पनि नियन्त्रण मुक्त गरेको थियो । तर पछि बालिकाको अवस्था असामान्य देखिएपछि पुनः सोधखोज गर्दा बालिका सामुहिक बलात्कारको घटनामा परेको खुलेको हो ।
बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा १७ वर्ष देखि २८ वर्ष उमेरसम्मका केही स्थानीय युवकहरूको नाममा किटानी जाहेरी गरी मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन पेश गरिएको बताइएको छ । बालिकाको पछिल्लो बयानका आधारमा उनीहरूको नाममा किटानी जाहेरी दिइएको हो ।
बालिकामाथी सामुहिक बलात्कार जस्तो जघन्य अपराध भएकोले घटनामा संलग्न पीडकहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने अधिकारकर्मीहरूको माग छ । दोषीलाई उन्मुक्ति दिन खोजिए कडा संघर्षका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ । पीडित पक्षले दोषीलाई कानुनी कारबाहीमा ल्याई आफुहरूलाई न्याय दिलाउन अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बालिकाको स्वास्थ्य परिक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिनुभयो । किटानी जाहेरीमा नाम उल्लेखित व्यक्तिहरू मध्ये यो खबर तयार पार्दा सम्म मनमोहन सिंह सावदलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य सहित घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।