हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरका ७० वर्षीय वृद्ध घनश्याम खाती र ६८ वर्षीया वृद्धा बेली देवी खातीको यही साउन १६ गते राति भएको हत्या प्रकरणमा संलग्न चारजना अभियुक्तहरुलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । खाती दम्पतीको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँ बस्ने छिमेकी ५३ वर्षीय प्रकाश ऐर, बेलौरी ७ गणेशपुर बस्ने ३५ वर्षीय दिनेश राना, बेलौरी ६ हात्तिबोझा बस्ने ३६ वर्षीय होरी राना र कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने ४५ वर्षीय रबि रानालाई सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । श्रीमती बेली देवी खातीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् घनश्याम खातीको उपचारको क्रममा आइतबार राति कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । बोक्सीको आरोपमा खाती दम्पतीको हत्या गरेको अभियुक्तहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।
मृतक खाती दम्पतीका छोरा ३८ वर्षीय राजेश खातीले दिएको जाहेरीका आधारमा उनीहरुलाई फरकफरक समयमा पक्राउ गरिएको थियो । छिमेकी प्रकाश ऐरले घनश्याम खातीलाई बोक्सी आरोप लगाएको विषयमा विगत लामो समय देखि एक आपसमा रिसइबी समेत रहेको बुझिएको छ । अभियुक्त प्रकाश ऐरले चार लाख रकम दिने सम्झौतामा भर्रा भनिने रबि रानाले धारिलो हतियार प्रयोग गरी खाती दम्पतीको हत्या गरेको बताइएको छ । बाँकी दुई जना दिनेश राना र होरी रानाले घटना हुनु पूर्व योजनावद्ध रुपमा राजेश खातीलाई घटना हुने बेलासम्म घरबाट बाहिर अन्तै लगेर अत्याधिक मदिरा सेवन गराएको र घटना पश्चात खातीकै घरसम्म पुर्याइदिएको अनुसन्धानबाट खुलेको छ । अभियुक्तहरुले प्रयोग गरेका दुई थान मोटरसाइकल र अभियुक्त रबि रानाको घरमा लुकाइछिपाई राखेको एक लाख पचास हजार नगद रकम समेत प्रहरीले अनुसन्धानका क्रममा बरामद गरेको थियो ।
यस्तो छ, कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्ती ।।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
प्रेसविज्ञप्ति
धारिलो हतियार प्रहार गरि दम्पती हत्या । मिति २०७७।०४।२६ गते
- वारदात मिति २०७७।०४।१६ गते अन्दाजी ०१:०० बजे ।
- वारदात स्थान – जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर ।
- मृतकको नाम – बेली देवि खाती (६८ बर्ष) मिति २०७७।०४।१६ गते राती अन्दाजी ०१:०० बजे घटनास्थलमा नै मृत्यु भएको ।
- घाईते भई मृत्यु भएका – घनश्याम खाती (७० बर्ष) मिति २०७७।०४।२५गते राती अन्दाजी ०१:०० बजे औषधी उपचारको क्रममा कोहलपुर मेडिकलेजमा मृत्यु भएको ।
- जाहेरवाला – जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को राजेश खाती
- अभियुक्त रबि रानाको घरबाट बरामद हुन आएको रकम रु.१,५०,०००।– (एक लाख पचास हजार)
- अभियुक्तहरुले प्रयोग गरेका मोटरसाईकल थान २ बरामद गरेको ।
पक्राउ मानिसहरु -
- जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर बस्ने बर्ष अन्दाजी ५३ को प्रकाश ऐर ।
- ऐ ऐ गणेशपुर बस्ने बर्ष अन्दाजी ३५ को दिनेश राना ।
- ऐ ऐ वडा नम्बर ६ हात्तिबोझा बस्ने छोरा बर्ष ३६ को होरी राना ।
- जि.क.पु.कृष्णपुर न.पा.२ बस्ने वर्ष ४५ को रबि राना ।
घटनाबिबरण –
जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर बस्ने घनश्याम खाती र निजको श्रीमती बेलि देवि खातीलाई आफ्नै घर आँगनमा मिति २०७७।०४।१६ गते राती अन्दाजी ०१;०० बजेको समयमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई गएको र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्र.ना.उ.अमर बहादुर थापा क्षेत्रीको कमाण्डमा समेत थप अनुसन्धान टोली खटिई गई केनाईन शाखा धनगढीबाट तालीम प्राप्त कुकुर समेत परिचालन गरिएको । तत्काल मृतकको छोरा राजेश खाती र दिनेश रानालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएकोमा छोराको संलग्नता नपाईए पश्चात निजलाई छाडिएको ।
अनुसन्धानको क्रममा सोही स्थान बस्ने छिमेकी प्रकाश ऐरले घनश्याम खातीलाई बोक्सी आरोप लगाएको बिषयमा बिगत लामो समय देखी एक आपसमा रिसईबी रहेकोले निज प्रकाश ऐरले घनश्याम खातीलाई मार्ने नियतले योजनाबद्द रुपमा जिल्ला कञ्चनपुर कृष्णपुर २ बांणि बस्ने रबि रानालाई नगद चार लाख रकम दिएको । वारदातपूर्व छोरा राजेश खातीलाई दिनेश राना र होरी रानाले आफू संग लगी रक्सी सेवन गराई घरमा जान नदिएको । वारदातको समयमा घरमा घनश्याम खाती र निजको श्रीमती बेली देवि खाती मात्र भएको मौका छोपी भर्रा भन्ने रबि रानाले धारिलो हतियार प्रहार गर्दा तत्काल घनश्याम खाती गम्भिर घाईते भएको र निजको श्रीमती बेली देवि खातीको घटनास्थलमा नै मृत्यू भएको । उक्त घटना घटाईसकेपछि मात्र मृतकको छोरालाई दिनेश रानाले मोटरसाईकलमा घरमा पुर्याई आफु फिर्ता भएको खुल्न आएको ।
घटनास्थल लाश जांच तथा पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान पश्चात मृतकको छोरा राजेश खातीले मिति २०७७।०४।१९ गते दिएको किटानी जाहेरीको आधारमा संलग्न ब्यक्तिहरु प्रकाश ऐर र होरी रानासमेतलाई तत्कालै पक्राउ गरी रबि रानाको घरबाट नगद रकम रु.१,५०,०००।– (एक लाख पचास हजार) लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई पक्राउ अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको र घटना पश्चात तत्काल फरार रहेका भर्रा भन्ने रबि रानालाई भाग्दै गरेको अवस्थामा मिति २०७७।०४।२५ गते जिल्ला कञ्चनपुर कृष्णपुर गुलरिया क्षेत्रबाट पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान कार्य भै रहेको ।
सूचना अधिकारी/कञ्चनपुर प्रहरी प्रवक्ता
प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
सम्पर्क नं. ९८५८७५०९१७
Email- [email protected], [email protected]