हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ साउन । कञ्चनपुरका विभिन्न क्षेत्रमा भारतीय पक्षबाट भइरहने सीमा अतिक्रमण र विवादको विषयमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको टोली काठमाण्डौँ प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, सहसंयोजक हरी चन्द ठकुरी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल समेतको टोली शुक्रबार कञ्चनपुरबाट काठमाण्डौँका लागि हिँडेको हो । समितिका केही सदस्यहरु र कञ्चनपुरबाट निर्वाचित संघीय जनप्रतिनिधिहरु काठमाण्डौँ मै रहेकोले उहाँहरुको समेत सहभागितामा सीमा समस्याहरुको दीर्घकालीन समाधानका लागि सरकार र सरोकारवालाहरुसंग छलफल गरिने संयोजक भट्टले बताउनु भएको छ । सीमा विवादको समाधानका लागि सरकारले सीमा सर्भे टोलीलाई खटाएको भएपनि सीमा सर्भे टोलीको कार्य शंकाष्पद देखिएकोले तत्काल उक्त स्ट्रिप नक्सा माथि छानबिनको माग लिएर गएको संयोजक भट्टको भनाइ छ । काठमाडौँँ हिड्नु अघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसंग समेत छलफल गरिएको संयोजक भट्टले बताउनुभयो ।
अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टका अनुसार, यसअघि गत चैत्र पहिलो साता उक्त टोलीले गृह, परराष्ट्र, भूमि व्यवस्था तथा सम्बन्धित संसदीय समितिहरुमा ज्ञापन पत्र दिने क्रममा मन्त्री तथा सांसदहरुले नेपाली भूमि भारतमा गाँभिने विषय गम्भीर भएकोले यस विषयमा आवश्यक प्रमाण र तयारी गरी भारतीय पक्षसँग गम्भीर रुपमा उठाउने बताए पनि त्यस लगत्तै गरिएको बन्दाबन्दीले उक्त विषय सेलाएको थियो । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको प्रतिनिधि मण्डलले त्यो समयमा गृह मन्त्री राम बहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, व्यवस्थापिका संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत, राज्य व्यवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिहरुलाई ज्ञापन बुझाएपनि पछिल्लो समयमा कञ्चनपुरमा भारतीय पक्षबाट निकालिएको सीमा विवाद तर्फ राज्यले चाँसो देखाएको पाइदैन ।
भोग चलन तथा जग्गा धनी प्रमाण पुर्जा र मूल सीमा स्तम्भ (जंगे पिलर) लाई समेत बेवास्ता गर्दै संयुक्त सीमा सर्भे टोलीले भारतले अतिक्रमण गरेको भुमि नेपालको देखिने गरी स्थापित सीमा (जंगे पिलर) पिल्लरहरुलाई साक्षी स्तम्भ (रिफ्रेन्स पिल्लर) र नेपाल तर्फ रहेका साक्षी स्तम्भ (रिफ्रेन्स पिलर) तथा सहायक पिल्लरलाई सीमाको मूल पिल्लर स्वीकार गर्दै तयार गरिएको स्ट्रिप नक्शा हाल कार्यान्वयन गर्न खोज्दा कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रको सयौं विगाहा जमिन भारत तर्फ गाभिने खतरा देखिएको छ । विशेष गरी भारतसंग सीमा जोडिएका कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र माहाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद देखिन्छ । भारतको विस्तारवाद नीतिको कारण भारतीय पक्षले बेलाबेलामा नेपाली भूमि अतिक्रमण गरिरहेको र सीमा सर्भे टोलीले समेत त्रुटिपूर्ण नक्सा बोकेर सीमा छुट्याउने कार्य गर्न खोज्दा विवाद सतहमा आउने गरेको छ ।