हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ साउन । कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको निड्स नेपालले सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवद्र्धन परियोजना (दक्षता) लागु गरेको छ । युरोपियन युनियन र ब्रिटिस काउन्सीलको सहयोगमा निड्स नेपालले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बझाङ जिल्लामा दक्षता परियोजना लागु गरिएको दक्षता परियोजनाका संयोजक विनोद कडाराले जानकारी दिनुभयो । उहाँका अनुसार, १ मार्च २०२० देखि सुरु गरिएको परियोजनाको अवधि ३१ अगष्ट २०२१ सम्म गरी १८ महिना रहने छ । युवा समुह र रोजगारदाता उक्त परियोजनाका लागि २ करोड ५४ लाख ३ हजार ८ सय २० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
साँझेदार संस्थाहरु संगै प्राविधिक रुपमा गुरुकुल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रा.लि. कञ्चनपुर र डिभोटी तालिम तथा अनुसन्धान केन्द्र कैलालीको सहयोग रहेको निड्स नेपालका सहसचिव दुर्गा खरेलले जानकारी दिनुभएको छ । नेपालको संविधान २०७२ मा उल्लेखित रोजगारीको हकलाई स्थानीय सरकारसंग सहकार्य गरी कार्यान्वयनको पक्षमा जोडदिने परियोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ । त्यस्तै, सरकारले जारी गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि शाखा तथा समुह, युवा समुह तथा रोजगारदाता विभिन्न संघसंस्थाहरुसंग समेत समन्वयात्मक सहकार्य गरिने दक्षता परियोजनाको कार्यविधि रहेको छ । परियोजनाले दीगो विकास लक्ष्यको बुँदा नम्बर ८ मा रहेको उचित काम र आर्थिक वृद्धिलाई समेत जोड दिएको छ ।
दक्षता परियोजना कञ्चनपुर जिल्लाका भीमदत्त, बेलौरी, पुनर्वास, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर गरी ६ स्थानीय तहमा लागु गरिएको परियोजनाका कञ्चनपुर प्रतिनिधि मनराज उपाध्यायले बताउनु भएको छ । अर्धसीप र सीप नभएका युवाहरुको रोजगार तथा स्वरोजगार प्राप्तीका लागि बजारको आवश्यकता अनुसार ज्ञान तथा सीपमा वृद्धि गर्ने निर्दिष्ट उद्देश्य रहेको परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई समेत समेट्ने बताइएको छ । परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय तहहरुमा समन्वयात्मक बैठक जारी रहेको उपाध्यायले बताउनु भयो । बुधबार मात्रै कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिकामा परियोजना समन्वयात्मक बैठक गरिएको थियो भने बिहिबार कृष्णपुर नगरपालिकामा समेत बैठक आयोजना गरिएको छ ।
सोही क्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले दक्षता परियोजना कार्यान्वयन गरी बेरोजगार युवाहरुमध्ये केहीलाई स्वरोजगार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बेलौरी नगरपालिकाले समेत बेरोजगारहरुलाई रोजगारीको अवसर दिने नीति लिएकोले विभिन्न निकाय र संघसंस्थाहरुको सहयोगमा रोजगारीका कार्यक्रम सृजना गरिने उल्लेख गर्नुभयो । त्यस्तै, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले निड्स नेपालले पुनर्वासमा विगत लामो समयदेखि महत्वपूर्ण सहयोग गर्दै आएकोमा प्रशंसा गर्दै दक्षता परियोजनाको सफल कार्यान्वयनमा नगरपालिका सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई स्वरोजगार बनाउने नगरपालिकाको नीति रहेको उल्लेख गर्नुभएको छ ।
रोजगार सेवा केन्द्र बेलौरी नगरपालिकाका संयोजक नरेश प्रसाद भट्ट र रोजगार सेवा केन्द्र पुनर्वास नगरपालिकाका संयोजक दीपक चन्दले आफ्नो नगरपालिका क्षेत्र भित्र बेरोजगार रहेका व्यक्तिहरुको लगत संकलनको कार्य गरिएको बताउनु भएको छ । कोभिड १९ का कारण हालै विभिन्न क्षेत्रको रोजगारी गुमाएर फर्किएका नागरिकको संख्या समेत बढ्दै गएकोले उहाँहरुको समेत तथ्यांक लिइने बताइएको छ । सरकारको नीति बमोजिम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वरोजगारका कार्यक्रम कार्यान्वयन गरिने उहाँहरुको भनाइ छ । निड्स नेपालको दक्षता परियोजना लागु भएका अन्य स्थानीय तहहरुमा समेत समन्वात्मक बैठक गरिएको छ । परियोजना लागु गरिएका स्थानीय तहका करीब साडे सात सय बढी युवाहरुले परियोजनाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।