हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ साउन । कञ्चनपुरको बेलौरीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले हार्डवेयरका सामान तथा भारतीय युरिया मल बरामद गरेको छ । भारतीय क्षेत्रबाट भन्सार छली गरी अबैध बाटो हुँदै नेपाल ल्याई दशगजा क्षेत्रका उखुबारीमा लुकाइ राखेको अवस्थामा ती सामान र युरिया मल बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताउनु भएको छ ।
शनिबार ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ खैरानी नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. २० हजार ९ सय २० मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको बताइएको छ ।
त्यस्तै, शनिबार ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु राना नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. १८ हजार मुल्य बराबरको १८ बोरा भारतीय युरिया मल बरामद गरेको छ ।
शनिबार नै ०६ः३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार प्रदीप कुमार कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. ३० हजार मुल्य बराबरको ३० बोरा भारतीय युरिया मल बरामद गरेको थियो ।
बरामद गरिएका सबै सामान तथा युरिया मल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट त्रिनगर भन्सार कार्यालयमा पठाइएको थियो । रु. ६८ हजार ९ सय २० मुल्य बराबरको जम्मा भन्सार दाखिला गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले जानकारी दिनुभयो । व्यावसायिक प्रयोजनका लागि भन्सार छली गरी अबैध बाटोबाट माछा, कुखुरा, मलखाद तथा बिभिन्न सामान भित्रिरहेको जनगुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ सेक्टर मातहतका बोर्डर आउट पोष्टहरुले सीमामा थप निगरानी बढाएको उहाँको दाबी छ ।
विगत ३ महिनायता कञ्चनपुरको दक्षिणी क्षेत्रमा सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्दै आउनु भएका सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले कोरोना भाइरस संक्रमणको उच्च जोखिम र बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रहरु बढी संवेदनशील रहेको परिस्थितिमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अधिकांश आपराधिक क्रियाकलाप र अबैध सामान ओसारपसारका कार्यमा नियन्त्रणमुखी प्रयास गरेको बताउनु भयो ।
सीमा क्षेत्रमा अबैध तबरले सामान ओसारपसार हुँदै गर्दा आफुलाई जानकारी दिन सिमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई उहाँले आग्रह गर्नुभएको छ । स्रोत साधनको अभावका कारणले कुनै बेला सुरक्षाकर्मीको आँखा छलेर चोरी तस्करी भएमा त्यस क्षेत्रका स्थानीयबासीले सहयोग गरेको खण्डमा चोरी तस्करी नियन्त्रण गर्न थप सहयोग पुग्ने उहाँको भनाइ छ ।