हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ साउन । निजी तथा संस्थागत विद्यालयका छाता संगठनहरुले कञ्चनपुरका विभिन्न स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र पेश गरेका छन् । केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार कञ्चनपुरको वेदकोट नगरपालिकामा समेत प्याव्सन र एनप्याव्सनले नगर क्षेत्र भित्र सञ्चालित संस्थागत विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दलाई ७ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाइएको हो । सोही क्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण शिक्षा क्षेत्र समेत नराम्ररी प्रभावित भएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहको क्षेत्राधिकार भित्र रहेर गर्न सकिने कार्य गर्ने आश्वासन दिनुभएको छ ।
त्यस्तै, कञ्चनपुरको बेलौरीमा रहेका निजी तथा संस्थागत विद्यालयहरुका छाता संगठन प्याव्सन र एनप्याव्सनले समेत केन्द्रीय कार्यक्रम अनुसार बेलौरी नगरपालिकालाई ध्यानाकर्षण पत्र पेश गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याव्सन) बेलौरीले बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । सोही क्रममा नगर उपप्रमुख चित्र कुमारी चौधरीले नगरपालिकाको तर्फबाट गर्न सकिने सहयोग गर्न आफु तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेलौरी नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक देव बहादुर चन्दले समेत आफुहरु सकारात्मक रहेको र सरकार एवं मन्त्रालयको निर्णयको पर्खाइमा रहेको बताउनु भयो ।
पुनर्वास नगरपालिकामा समेत प्याव्सन र एनप्याव्सनले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । नगर प्रमुख जीवन राज थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याव्सन र एनप्याव्सनले नेपाल सरकारका विभिन्न निकायहरुमा पटक–पटक आग्रह गरेपनि ठोस निष्कर्ष नआउँदा विद्यालयहरुका दैनिक गतिविधी सञ्चालन गर्न कठिनाई भएको बताएका छन् । सोही क्रममा नगर प्रमुख जीवन राज थापाले तत्काल देखिएका केही समस्याहरुको समाधान स्थानीय तह र विद्यालयहरु बीचको सहमतिमा गर्न सकिने भएपनि सबै अधिकार स्थानीय तहलाई नभएकोले संघीय सरकारको निर्णय बिना अन्य कदम चाल्न नसकिने बताउनु भयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याव्सन) को भीमदत्त नगर समितिले समेत शुक्रबार नै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संयुक्त रुपमा बुझाइएको ध्यानाकर्षण पत्रमा आलोपालो कक्षा सञ्चालन गरी कोरोना संक्रमणका कारण बन्द पठनपाठन सञ्चालन गर्नु पर्ने माग गरिएको छ । ती दुबै संगठनले शुक्रबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई आलोपालो शिक्षण सहितको ७ बुँदे माग राखेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । सोही क्रममा नगर प्रमुख सुरेन्द्र बिष्टले विद्यालय सञ्चालन बारे गम्भिर भएको बताउनु भयो ।
देशव्यापी अभियान अन्तर्गत संयुक्त रुपमा बुझाइएको सात बुँदे ध्यानाकर्षण पत्रमा विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीघ्र निर्माण गरिनु पर्ने, यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने, क्वारेन्टीनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनु पर्ने, वर्तमान शिक्षा नियमावली अनुसार शैक्षिक सत्र २०७७ को लागि केही सार्वजनिक बिदाहरु, जाडो बिदा लगायत अन्य बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरिनुपर्ने माग गरिएको छ ।
त्यसैगरी, विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब भत्ता लगायत अन्य खर्चको व्यवस्थापनमा उचित सहयोग गर्नुपर्ने र घर बहाला कर, व्यावसायिक कर, महसुलमा छुटको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसअघि बुधबार दुवै संगठनका राष्ट्रिय अध्यक्षहरुले आर्थिक तथा व्यावसायिक संकट आइपरेकोले अनिश्चितता बीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोली गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प रहेको भन्दै शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।