कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले झिलमिला तालको व्यवस्थित पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा गुरुयोजना बनाउने भएको छ । गुरुयोजना निर्माणका लागि यस वर्ष १५ लाख बजेट विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मान्ने गरिएको छ ।
स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकाले तालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाउन लागेको हो । नगर प्रमुख सुरेन्द्र विष्टले तालको व्यवस्थित र योजनाबद्ध पर्यटन विकासका लागि गुरुयोजना बनाउन लागिएको बताउनु भयो । अव्यवस्थित पूर्वाधार निर्माणले तालको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वलाई आँच आउने भएकोले योजनाबद्ध विकासका लागि गुरुयोजना आवश्यक भएको उहाँको तर्क छ ।
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिएका छन् । भ्रमण वर्षलाई मध्यनजर गरी गत महिना शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । अहिले सवारीबाट झिलमिला तालसम्म पुग्ने गरी बाटो निर्माण गरिएको छ । मटेनाबाट ताराकोटसम्म सवारी प्रयोग गरी पुग्न सकिन्छ । ताराकोटबाट पदमार्ग भएर ९ किलोमिटर दुरी पार गरी तालमा पुग्न सकिन्छ ।
मटेनाबाट चार किलोमिटर पक्की र बाँकी सडकको ट्रयाक खोलिएको छ । नगर प्रमुख विष्टले आगामी वर्षमा ताराकोटसम्म पक्की बाटो पुग्ने दाबी गर्नुभयो । तारकोटसम्म सडक निर्माण भएपछि दैनिक रुपमा एक सय हाराहारीमा दर्शनार्थी तथा पर्यटकहरु ताल क्षेत्रमा पुग्ने गरेको भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले बताउनु भयो ।
१८ मिटर गहिरो तालको दैनिक रङ्ग फेरिने, चारैतिर घना जङ्गल भएर पनि तालमा पात नदेखिने, पानी सधैं एक नाशको रहने तथा माछाको.स्थिर आकारका कारण अचम्मको मान्ने गरिएको छ । ब्रह्मदेवबाट झिलमिला तालसम्म केवुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।
ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिना अघि पूर्व उद्योग मन्त्री कर्ण थापाले नेताहरु सहित तालको अवलोकन भ्रमण गर्नुभएको थियो ।