हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ असार । कञ्चनपुरको बेलौरी नगरपालिकाको नगरसभा शुरू भएको छ । शुक्रबारबाट शुरू गरिएको नगर सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षका लागि कुल ७२ करोड ८१ लाख ७ हजार दुई सय नब्बे बराबरको बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख चित्र कुमारी चौधरीले जानकारी दिनुभयो । प्रस्तावित बजेट, नीति तथा कार्यक्रम माथि व्यापक छलफल गरी पारित गरिने नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । कञ्चनपुरका नौ वटा स्थानीय तहहरु मध्ये आठ वटा स्थानीय तहहरुले यसअघि नै आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट, नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।
कञ्चनपुरका सबै स्थानीय तहले चालुआर्थिक वर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको पाइन्छ भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि समेत बजेट विनियोजन गरेका छन् । यहाँका स्थानीय तहहरुले विषेशगरी स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पुर्वधार लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरेका छन् । आगामी अर्थिक वर्ष २०७७।०७८ का लागि बजेट, नीति तथा कार्यक्रम ल्याउने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिकाले असार पहिलो साता आयोजित नगरसभाबाट १ अर्ब ४६ करोड बराबरको बजेट पारित गरिसकेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भएको छ ।
त्यस्तै, बेलौरी बाहेक अन्य स्थानीय तहहरूले यही असार १० गतेका दिन नगर तथा गाउँ सभा शुरु गरेका थिए । माहाकाली नगरपालिकाले ५४ करोड ७५ लाख बराबरको बजेट ल्याएको छ । माहाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना नियन्त्रण सहित स्वास्थ्य, कृषि र रोजगारीका कार्यक्रम सार्वजनिक गरिएको बताउनु भयो । वेदकोट नगरपालिकाको सातौँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ७२ करोड ४० लाख बराबरको बजेट पारित गरिएको नगर प्रवक्ता नरेश बहादुर सिंहले बताउनु भएको छ । प्रवक्ता सिंहका अनुसार आगामी आर्थिक वर्षमा कोल्ड स्टोर सहित कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ६९ करोड ५ लाख बराबरको बजेट ल्याएको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले बताउनु भयो । शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य तर्फ कोभिड १९ रोकथाम तथा नियन्त्रण संगै, रोजगारीका कार्यक्रम ल्याएको बताइएको छ । कृष्णपुर नगरपालिकाले नगरसभामा ८८ करोड १३ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख कर्ण बहादुर हमालले स्पष्ट कार्यनीति र समन्वयात्मक कार्यशैलीले नगरलाई आगामी दिनमा उत्कृष्ट नगरको पहिचान दिलाउने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो । कृष्णपुरमा पनि कोभिड १९ रोकथाम एव नियन्त्रणकै योजनालाई मुख्य प्राथमिकता दिइएको छ ।
त्यसैगरी, पुर्नवास नगरपालिकाले ६७ करोड १० लाख बराबरको बजेट ल्याएको नगर उपप्रमुख शारदा शर्मा बिष्टले बताउनु भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, कृषिका साथै विदेशबाट आएका मानिसलाई स्वरोजगार बनाउने लगायतका विषय बजेटमा प्राथमिकताका साथ राखिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले बताउनु भएको छ । प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि थप छलफल गरी केही दिनमै पारित गरिने नगर प्रवक्ता भारमल सुनारले जानकारी दिनुभयो । त्यस्तै, लालझाडी गाउँपालिकाले ४९ करोड ७८ लाख बराबरको बजेट ल्याएको गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले जानकारी दिनुभएको छ । उहाँका अनुसार, दफाबार छलफल गरी बुधबार नै बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले कोरोना रोकथाम सहित स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार निर्माण लगायतका विषयलाई विषेश जोड दिइएको बताउनु भएको छ ।
कञ्चनपुरका स्थानीय तहहरु मध्ये सबैभन्दा कम बजेट बेलडाँडी गाउँपालिकाले ल्याएको छ । गाउँ सभाबाट ३६ करोड ६४ लाख बराबरको बजेट प्रस्तुत गरिएको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्कीले जानकारी दिनुभएको छ । बेलडाँडी गाउँपालिकाले समेत कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, शिक्षा, कृषि तथा विकास निर्माण लगायतका विषय बजेटमा प्राथमिकताका साथ समावेश गरेको गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार, बुधबार प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम माथि थप छलफल गरी असार १२ गते शुक्रबार पुनः बैठक बोलाई पारित गरिएको छ ।