हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकाश शाखाले एक कार्यक्रमका बीच युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी तथा च्याउ खेती गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप चेक हस्तान्तरण गरेको छ । बेलौरी नगरपालिका भित्रका च्याउ खेती गर्ने १२ जना र तरकारी खेती गर्ने १६ जना गरी जम्मा २८ जना कृषकहरुलाई चेक हस्तान्तरण गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताउनु भएको छ ।
कार्यक्रममा कृषकहरुलाई सम्बोधन गर्नुहुँदै कृषि विकाश शाखाका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष नेत्रराज गिरीले उत्पादित वस्तुलाई बजारको समस्या भए त्यसको व्यवस्थापन गर्न सकिने बताउनु हुँदै नगरपालिका कृषिमा आधारित रहेको स्मरण गराउनु भयो ।
बेलौरी नगरपालिका कृषि विकाश शाखाबाट यसअघि गहुँ प्रदर्शनीका लागि अनुदान पाउनु भएका बेलौरी नगरपालिका वडा नं. ४ मोतिपुरका सकृय कृषक गीता जोशीले गहुँ खेती राम्रो भएको प्रतिकृया दिनु भयो ।
बेलौरी नगरपालिका वडा नं. २ बैजुडाँडाका अर्का कृषक इन्दिरा चौधरीले ५ कट्टा भन्दा बढी जमीनमा तरकारी खेती गरेर परिवारको घर खर्च धान्न सकिएको बताउनु भयो ।
त्यस्तै बेलौरी नगरपालिका वडा नं. १० शिवनगरका अर्का कृषक कमल प्रसाद उपाध्यायले पनि युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारी खेति गरी बेलौरी नगरपालिका कृषि विकाश शाखाद्वारा प्रोत्साहन स्वरुप रकम प्राप्त गर्नुभएको छ । उहाँले प्रोत्साहन प्राप्त गरिसकेपछि कृषि क्षेत्रमै डटेर लाग्ने प्रेरणा मिलेको बताउनु भयो ।
बेलौरी नगरपालिका भित्रका च्याउ खेती गर्ने १२ जना र तरकारी खेती गर्ने १६ जना गरी जम्मा २८ जना कृषकहरुलाई चेक हस्तान्तरण गरिएको र यसबाट कृषकहरुलाई व्यावसायिक रुपमा काम गर्न थप सहज हुने बेलौरी नगरपालिका कृषि विकाश शाखाका नायव प्राविधिक सहायक सविना कुँवरले विश्वास व्यक्त गर्नुभयो ।
बेलौरीका व्यावसायिक कृषकहरुलाई थप प्रोत्साहन स्वरुप गरिएको सहयोगले उहाँहरुमा नयाँ उर्जा मिलेको छ । उहाँहरुले अब कृषि पेसामा थप कृयाशील हुने बताउँदै गर्दा अन्य अगुवा कृषकहरुले पनि कृषिलाई व्यावसायिक रुपमा प्रबर्धन गर्नुपर्ने र उत्पादित वस्तुको बजारीकरणका लागि भने स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले प्रोत्साहन स्वरुप रकम प्राप्त गर्ने सबै कृषकहरुलाई बधाई ज्ञापन गर्दै व्यावसायिक कृषि पेसा अवलम्बन गर्न सुझाव दिनु भयो । कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिका कृषि विकाश शाखाका कृषि प्राविधिक हरिश सेठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नायव प्राविधिक सहायक सविना कुँवरले गर्नु भएको थियो ।
अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोस् ।
वा
अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोस् ।