हरिश चन्द्र बाग, कञ्चनपुर । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. १० भुडामा विमा रकम प्रदान गरेको छ । बेलौरी नगरपालिका वडा नं. १० भुडा बस्ने समुहकी सदस्य चम्पी देवी चौधरीको गत फागुन २२ गते असामयिक निधन भएको थियो । मृतक चौधरीका श्रीमान् माधुलाल चौधरीलाई मंगलबार एक कार्यक्रमका बीच ग्रामीण कर्जा सुरक्षण वाफतको रकम रु. ४ लाख दुई हजार प्रदान गरेको हो ।
सो विमा रकम वितरण कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बेलौरी शाखाका प्रमुख बिरेन्द्र प्रसाद चौधरी, सहायक बलदेव चौधरी र जनक कुमार खड्का, समुहका सदस्य तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै शाखा प्रमुख चौधरीले विमाको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले वित्तिय रुपमा सजग र सचेत भएर सेवा लिन सेवाग्राहीहरुलाई आग्रह गर्नुभयो ।
वि.सं. २०४७ सालमा गैरसरकारी संस्थाका रुपमा स्थापित निर्धन २०४९ सालमा नेपालकै पहिलो लघुवित्तका रुपमा काम गर्दै २०५५ सालमा सरकारबाट निर्धन उत्थान बैंक लिमिटेडका रुपमा स्वीकृति लिई केन्द्रीय कार्यालय काठमाण्डौँमा, ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय, ७७ ओटै जिल्लामा कार्यक्षेत्र भई देशभर १८१ शाखामार्फत सेवा दिईरहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बेलौरीका शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
वि.सं. २०६८ चैतबाट बेलौरीमा शाखा स्थापना गरी महिलाहरुलाई धितो र विना धितो कर्जा सेवा, बचत, रेमिट्यान्स, ग्रामीण कर्जा बिमा, पशु बिमा लगायतका सेवा सहित बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी चार स्थानीय तहमा सेवा प्रदान गर्दै आएको छ ।