कञ्चनपुर, ३२ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालन गरिएको मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवा स्थित स्वास्थ्य चौकीमा कार्यक्रम समापन गरिएको हो । भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी यही जेठ पहिलो सातादेखि कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिका भित्रका सबै १९ वडाका तीन÷तीन स्थानमा कार्यक्रम गरी सम्बन्धित टोलका वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो । मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रमबाट ६ हजार १० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रम अन्र्तगत ८१ जनालाई प्रयोगशाला सेवा समेत प्रदान गरिएको बताइएको छ ।
समापन कार्यक्रममा भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका सबैले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख जोशीले कोभिड १९ सम्बन्धी स्थानीय वासिन्दालाई जनचेतना फैलाउनका साथै लकडाउनका कारण समस्यामा परेका ज्येष्ठ नागरिक, दीर्घरोगी लगायतका वासिन्दालाई लक्षित गरी कार्यक्रम गरिएको बताउनु भयो । सबै वडामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय वासिन्दाको स्वास्थ्य जाँच गरी औषधि समेत वितरण गरिएको स्वास्थ्य शाखाका फार्मेसी सहायक जीवन साउँदले बताउनु भयो ।
मेयर टोलटोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नम्बर २ मा ३ सय ६३, वडा नम्बर १ मा २ सय २४, वडा नम्बर ३ मा ३ सय ३०, वडा नम्बर १२ मा २ सय ६५, वडा नम्बर १८ र ४ मा ३ सय ६०, वडा नम्बर १५ मा ३ सय ८९, वडा नम्बर ९ मा ४ सय १, वडा नम्बर ११, १८ मा ५ सय ४१, गडा नम्बर ६ मा ३ सय ११, वडा नम्बर १३ मा ३ सय ७९ र वडा नम्बर १४ मा ४ सय ४ जनालाई सेवा प्रदान गरिएको छ । यसैगरी सेवा पाउनेमा वडा नम्बर ५ मा ३ सय ४१, वडा नम्बर ७ मा ३ सय ८३, वडा नम्बर ८ मा २ सय १५, वडा नम्बर १५ मा २ सय, वडा नम्बर १९ मा २ सय ५५, वडा नम्बर १६ मा २ सय ७ र वडा नम्बर १० मा ४ सय २२ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।