हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ मा कडा कुपोषण शुन्य वडा घोषणा अभियान अन्तर्गत हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । मंगलबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा एक औपचारिक कार्यक्रमका बीच सुरु गरिएको अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको हो । पहिलो दिन मंगलबार बेलौरी नगरपालिका वडा नं. ६ का हात्तिबोझा, विद्यानगर र शान्तिनगर टोलका सुनौलो हजार दिने आमाहरूलाई अभिमुखीकरण संगै सरसफाइ सम्बन्धी सामग्री समेत प्रदान गरिएको थियो ।
सोही अभियान अन्तर्गत दोस्रो दिन बुधबार बेलौरी नगरपालिका वडा नं. ६ सिसमघारी, रिछाहा, पुरानो बेलौरी, दुम्ली र ढक्काचाँदर गाउँटोलका सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी सरसफाइ सम्बन्धी सामग्री समेत प्रदान गरिएको बेलौरी नगरपालिकाका खरिदार रेशम चौधरीले बताउनु भयो । त्यस्तै, तेस्रो दिन बिहिबार बेलौरी नगरपालिका वडा नं. ६ का भुराकोट, प्रेमनगर, कटान र बैशाखा टोलका हजार दिने आमाहरुलाई पोषण सम्बन्धी अभिमुखीकरण र सरसफाइ सम्बन्धी सामग्री प्रदान गरी समापन गरिएको छ ।
बिहिबार सम्पन्न कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने बेलौरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम प्रकाश बडायक लगायत वडा सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सुआहाराका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा सुनौलो हजार दिने आमाहरूलाई प्रशिक्षण दिइएको हो । यसअघि बेलौरी नगरपालिका वडा नं. २ र ५ मा समेत उक्त कार्यक्रम गरिएको थियो ।
प्रस्तुत छ, सोही कार्यक्रम सम्बन्धी तयार पारिएको अडियो रिपोर्ट, खबर सहयात्री प्रेमा आचार्यबाट ...
अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोस् ।
वा
अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोस् ।