हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रभित्रका क्वारेन्टीनहरुको व्यवस्थापन सुधारोन्मुख रहेको छ । नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालय तथा सार्वजनिक स्थलमा तयार गरिएका क्वारेन्टीनहरु अव्यवस्थित रहेको भन्दै केही दिनयता विभिन्न सञ्चारमाध्यम र नगरपालिका भित्रका जागरुक युवाहरु र स्वयं क्वारेन्टीन भित्रका व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि यहाँका जनप्रतिनिधि र सरोकारवालाहरुले व्यवस्थापनमा केही सुधार ल्याएको पाइएको छ । विशेषगरी क्वारेन्टीन भित्र एउटै कोठामा अधिक व्यक्तिहरु राखेको, किटनाशक औषधि तथा झुल, शौचालय र खानेपानीको अभाव, खानानास्ता समेत अव्यवस्थित रहेको र सरोकारवालाहरुले व्यवस्थापनमा लापरवाही गरेको भन्ने आरोप बेलौरी नगरपालिकाले खेप्दै आएको थियो । ती समस्याहरुको केही हदसम्म सुधार भएको पाइएको छ । यद्यपी पूर्ण रुपमा व्यवस्थापन भने अझै भइनसकेको उनीहरुको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले होम क्वारेन्टीनका लागि कार्यविधि तयार गरी स्वीकृत समेत गरिसकेको छ । तर उक्त कार्यविधि अनुसार बेलौरी नगरपालिका क्षेत्र भित्र हालसम्म कोही पनि होम क्वारेन्टीनमा बसेका भने छैनन् ।
बेलौरी नगरपालिकाका सबै वडाहरुले विभिन्न सामुदायिक विद्यालयहरुमा क्वारेन्टीन व्यवस्थापन गरेका छन् । यो समाचार तयार गर्दासम्म बेलौरी नगरपालिका वडा नम्बर १ को दुर्गा आधारभूत विद्यालय मटैयामा ४० जना क्षमताको क्वारेन्टीन तयारी अवस्थामा रहेपनि अहिलेसम्म त्यहाँ कुनैपनि व्यक्तिलाई राखिएको छैन । भारत तथा अन्यत्रबाट आएका उक्त वडाका केही व्यक्तिहरुलाई अन्य वडा क्षेत्र भित्रका क्वारेन्टीनमा व्यवस्थापन गरिएको १ नम्बर वडाका वडाध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभयो । वडा नम्बर २ जवदिया स्थित लक्ष्मी माविको क्वारेन्टीनमा १ जना महिला र १७ जना पुरुष गरी जम्मा १८ जनालाई राखिएको वडा नम्बर २ का वडाध्यक्ष कलबीर चौधरीले जानकारी दिनुभयो । त्यस्तै, वडा नम्बर ३ का दुईवटा सामुदायिक विद्यालयमा क्वारेन्टीन व्यवस्थापन गरिएको छ । जनजागृति पुष्पलाल स्मृति माविको क्वारेन्टीनमा ३ जना महिला र ३४ जना पुरुष गरी जम्मा ३७ जना र सरस्वती माविको क्वारेन्टीनमा ६ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३८ जनालाई राखिएको वडा नम्बर ३ का वडाध्यक्ष नेत्रराज गिरीले बताउनुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति माविमा तयार गरिएको क्वारेन्टीनमा ८ जना महिला र ६२ जना पुरुष गरी ७० जना रहेको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । उक्त क्वारेन्टीन सञ्चालनमा ल्याउँदा सुरुवातमा केही अव्यवस्थित रहेपनि अहिले नगरपालिका क्षेत्र भित्रका क्वारेन्टीनहरु मध्ये सबैभन्दा बढी व्यवस्थित र सुविधा सम्पन्न क्वारेन्टीनका रुपमा रहेको सोही क्वारेन्टीनमा बसिरहेका राम प्रसाद काफ्लेले बताउनु भयो । क्वारेन्टीनमा देखिएका शौचालय, खानेपानी लगायतका केही समस्याको बारेमा वडाध्यक्षलाई जानकारी गराएको २४ घण्टाभित्रै ती समस्या समाधान गरेको प्रति उहाँले वडाध्यक्ष अर्जुन ढकाललाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा नम्बर ५ को जननमुना माविमा रहेको क्वारेन्टीनमा २ जना महिला र ३१ जना पुरुष गरी ३३ जना रहेको वडाध्यक्ष साइतु कुमार चौधरीले बताउनु भएको छ । त्यस्तै, वडा नम्बर ६ मा रहेको शारदा माविमा ५० जना क्षमताको क्वारेन्टीन तयार गरिएको वडा नम्बर ६ का वडाध्यक्ष राम प्रकाश बडायकले जानकारी दिनुभयो । वडा नम्बर ७ को गणेशपुर बरैयामा रहेको गणेश माविमा तत्कालका लागि ३५ जनासम्म क्षमताको क्वारेन्टीन व्यवस्थापन भइरहेको वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो ।
त्यस्तै, वडा नम्बर ८ को जनज्योति मावि कलकत्तामा रहेको क्वारेन्टीनमा ७ जना महिला र ३३ जना पुरुष गरी ४० जना रहेको वडाध्यक्ष नन्दकुमार रानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार, सोही वडाको कालिका आधारभूत विद्यालयमा २५ जना क्षमताको क्वारेन्टीन व्यवस्थापन भइरहेको छ । बेलौरी नगरपालिका वडा नम्बर ९ का २ विद्यालयमा क्वारेन्टीन राखिएको छ । ती मध्ये त्रिभुवन मावि रतनपुरको क्वारेन्टीनमा १२ जना महिला र ३९ जना पुरुष गरी ५१ जना र गोरखनाथ मावि कुण्डामा रहेको क्वारेन्टीनमा ६ जना महिला र ७२ जना पुरुष गरी ७८ जनालाई राखिएको वडा नम्बर ९ का वडाध्यक्ष समशेर सिंह पेलाले बताउनु भएको छ । सोही वडाको शुक्लाफाँटा आधारभूत विद्यालयमा समेत ६ जना बसिरहेको जानकारी प्राप्त भएको छ तर उक्त तथ्यांक नगरपालिकासंग छैन । बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सिद्धेश्वर मावि शिवनगरको क्वारेन्टीनमा २ जना महिला र २४ जना पुरुष गरी २६ जना रहेका छन् । सोही क्वारेन्टीनमा बसेका ९ जनामा आरडिटी टेष्ट पोजेटिभ देखिएपछि उक्त क्वारेन्टीन सिल गरिएको र भगवानपुर मावि भुडामा ८० जना क्षमताको नयाँ क्वारेन्टीन तयारी अवस्थामा रहेको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरीले बताउनु भएको छ ।
बेलौरी नगरपालिकाले आइसोलेशन कक्षको क्षमता समेत विस्तार गरेको छ । नगरपालिकाको नवनिर्मित भवनमा रहेको आइसोलेशनमा २ जना महिला र २० जना पुरुष गरी २२ जनालाई राखिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताउनु भएको छ । बेलौरी भित्र हालसम्म ४ सय ९ जनाको आरडिटी परीक्षण गरिएकोमा १९ जनाको पोजेटिभ र ३९० जनाको नेगेटिभ नतिजा आएको बेलौरी नगरस्तरीय कोभिड १९ फोकल पर्सन मान बहादुर चन्दले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ३५ जनाको पिसिआर परीक्षण गरिएकोमा १५ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी २० जनाको परीक्षणको नतिजा आउन बाँकी रहेको छ । त्यस्तै, सोमबार बिहान मात्रै उच्च ज्वरो आएका १ जना र आरडिटी पोजेटिभ देखिएका ५ जना गरी ६ जनाको पिसिआर जाँचका लागि धनगढी पठाइएको फोकल पर्सन चन्दले बताउनु भयो । बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्र कुमारी चौधरीले कोरोना भाइरसको थप संक्रमण बढ्न नदिन नगरपालिकाको टिम निरन्तर लागिरहेको बताउनु भयो । बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट बेलौरीका नगरवासीहरु आउने क्रम जारी रहेकोले थप क्वारेन्टीन व्यवस्थापन, सुरक्षा सतर्कता र जनचेतना प्रवाहमा नगरपालिका केन्द्रित रहेको उहाँको भनाइ छ ।