हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार बिहानैदेखि अर्को आदेश नभएसम्म अत्यावश्यक औषधोपचार बाहेक अन्य कामका लागि सुरक्षाकर्मीको परामर्श बिना घरबाहिर ननिस्कन कञ्चनपुरवासीलाई निर्देशन दिएको हो ।
यसैबीच, आइतबार साँझ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले सोमबारबाटै लागु हुने गरी अत्यावश्यक औषधोपचार बाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरु, बैंक लगायत सम्पूर्ण व्यापार, व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भएको छ ।
अलपत्र नेपालीहरुलाई वैधानिक बाटोबाट भित्र्याउन गड्डाचौकी नाका खुला गरिने ।।
भारतीय सीमावर्ती क्षेत्रबाट अवैधानिक बाटो भएर नेपाल भित्रिन खोज्ने नेपाली नागरिकहरुको संख्या दिनप्रतिदिन बढ्न थालेपछि पश्चिमी सीमा नाका गड्डाचौकी खुला गरी वैधानिक बाटोबाट भित्र्याउने तयारी गरिएको छ । कञ्चनपुर जिल्लाको सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई गड्डाचौकी नाकाबाट औपचारिक रुपमा नेपाल ल्याइने भएकोले नेपाल प्रवेश गर्न चाहने सबै नेपाली नागरिकहरुले अनुशासित, मर्यादित भएर आइदिनु हुन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।
गड्डाचौकी सीमा नाका भएर नेपाल आउने प्रत्येक व्यक्तिको विस्तृत विवरण संकलन गरिने भएकोले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्य रुपमा भर्नु पर्ने छ । सो फाराम भर्न छुटाएको खण्डमा जिल्ला प्रवेश गर्दा कठिनाई हुने भएकोले आफू पनि सो फाराम भर्न र अरुलाई पनि भर्न लगाउन हुन प्रशासनले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।