विधिवत् रुपमा आदिबासी जनजातिको संख्या ५९ बाट रानाथारु थपिएर ६० पुगेको छ । नेपाल रानाथारु समाज र रानाथारु संयुक्त संघर्ष समितिले अधिकारयुक्त पहिचानको मुद्दाका रूपमा उठान गरेको सुचीकृतको मुद्दा प्रक्रियागत रूपमा वैधता पाएको छ । रानाथारु समाजले दुई दशक देखि उठान गएको मुद्दा केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गरेको छ । आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ (२५) बमोजिम सरकारको सिफारिस मार्फत राजपत्रमा सूचीकरणको सूचना प्रकाशित गरेर आदिबासी जनजातिको सूचिमा थपघट गर्न सक्ने व्यवस्था अनुरूप सूचीकरण गरेर राजपत्रमा प्रकाशित भएको छ ।
यसबाट राज्यको पहिचानकाे मूलधारमा कैलाली-कञ्चनपुरका मूल आदिबासी रानाथारु समुदाय समाहित संगै खुसी भएका छौं । २०६९ सालमा सडक संघर्ष र पछी सदन सम्म यो मुद्दा उठान गर्दै गर्दा आज सम्बोधन हुँदा म साह्रै खुसी छु । नेपाल रानाथारु समाजको केन्द्रीय कार्य समितिको अध्यक्षको हैसियतले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा. हृदयेश त्रिपाठी र संघीय सांसद मा. नारदमुनि रानालाई धन्यवाद दिन चाहन्छु । अभिभावकत्व एवं संरक्षणत्व प्रदान गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी प्रति कृतज्ञता एवं अभार प्रकट गर्दछु ।
२०७६ कार्तिक १८ मा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी ज्यू समक्ष भाषा आयोगले प्रतिवेदन दिँदा उक्त प्रतिवेदन मार्फत रानाथारु भाषा सूचीकरण भएको छ । नेपाल रानाथारु समाजको केन्द्रीय कार्य समितिको निर्णय एवं माग बमोजिम प्रदेश सरकारले रानाथारु समुदायको सबै भन्दा ठूलो पर्व होरीको अन्तिम दिन चैत्र ४ गते खख्डेहराको सार्वजनिक बिदा गरेको थियो । रानाथारु समुदायको सूचीकरण, रानाथारु भाषा सूचीकरण एवं सार्वजनिक बिदा संगै समुदायको पहिचानयुक्त अधिकारको ढोका खुलेको छ । यसबाट सिंगो रानाथारु समुदाय नै खुसी भएका छन् ।
नेपाल रानाथारु समाजको केन्द्रीय कार्य समितिको निर्णय अनुसार नै रानाथारु समुदायको जनसंख्या, भाषा र अन्य कुराको छुट्टै गणनाका लागि तथ्याङ्ग विभागमा माग गरेका छौँ । यसका लागि मा. नारदमुनि रानाले पनि पहल कदमी गर्नु भएको जानकारी प्राप्त भएको छ । समग्र रानाथारु समुदायको उत्थान र विकासका लागि सहयोग गर्नु हुने सम्पूर्ण रानाथारु अगुवा नेतृत्व र अन्य सम्पूर्ण महानुभावहरुलाई रानाथारु समाजको तर्फबाट हृदय देखि धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
- कृपा राम राना
केन्द्रीय अध्यक्ष : नेपाल रानाथारू समाज तथा
पूर्वसांसद एवं संविधान सभा सदस्य