डा. ऋषिराम शर्मा ।
मार्च २३ लाई संसारभरि विश्व मौसम दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९५० को मार्च २३ मा विश्व मौसम सङ्गठनको स्थापना भएको दिनको सम्झनामा यो दिवस सन् १९६१ देखि मनाउन थालिएको हो । सन् १९६६ मा नेपालले विश्व मौसम सङ्गठनको सदस्यता लिई सकेपछि नेपालमा पनि विश्व मौसम दिवस मनाउन थालिएको हो । यसैगरी मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व पानी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा यी दुवै दिवसलाई समेटेर सप्ताहव्यापी रूपमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको रूपमा मनाउने गरिएको छ ।
यस वर्षको विश्व पानी दिवसको नारा ‘कोही पछि नछुटून्’ र विश्व मौसम दिवसको नारा ‘मेरो सूर्य, मेरो पृथ्वी, हाम्रो मौसम’ रहेको छ । पानी र मौसमको महìवका बारेमा जनचेतना अभिवृद्धि गर्दै पछि आउने समस्यालाई अहिले नै पहिचान गरी समानुकूलन र समस्यारहित दिगो समाजको निर्माण गर्नु यस्ता दिवसहरूको प्रमुख उद्देश्य हुने गर्छ । सूर्य तापशक्तिको मुख्य स्रोत भएको हुँदा नै पृथ्वीमा जीवनको सृष्टि भएको मानिन्छ । पृथ्वी र सूर्यको बीचका दुरी तथा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कक्षका आधारमा पृथ्वीको स्थान विशेषको जलवायु निर्देशित हुन्छ ।
ब्रह्माण्डमा रहेका अर्बाैं ताराहरू र तिनका खर्बाैं उपग्रहमध्ये अहिलेसम्म पृथ्वीबाहेक अन्यत्र जीवन रहेको भरपर्दो प्रमाण प्राप्त भएको छैन । सूर्यबाट प्राप्त हुने तापशक्तिमा खासै उतार चढाव नभए पनि विगत दुई सय वर्षदेखि पृथ्वी क्रमशः तातिन थालेको छ । जसको फलस्वरूप पृथ्वीमा जलवायु परिवर्तन हुनुको अलावा विषम मौसमी अवस्थाका घटनाहरूमा वृद्धि भएको छ । नेपालकै परिप्रेक्ष्यमा कुरा गर्दा सन् १९७० देखि सन् २०१५ सम्ममा अधिकतम तापक्रममा वार्षिक वृद्धि शून्य दशमलव ०५६ डिग्री सेल्सियस रहेको छ । यदि यही दर कायम हुने हो भने अबको एक सय वर्षपछि करिब करिब ५ डिग्रिसम्म अधिकतम तापक्रम वृद्धि हुने र यसबाट भयावह असर पर्ने कुरामा दुईमत नहोला ।
नेपालमा हिमनदीहरू सङ्कुचन हुनु, हिमतालको आकारमा वृद्धि हुनु, अत्यधिक वर्षाका दिनहरूमा बढोत्तरी हुनु, लामो समयसम्म खडेरी रहनु, ठूलाठूला बाढी र डुबानका घटनाहरूमा वृद्धि हुनु, उच्च पहाडी भू–भागहरूमा डेङ्गुलगायत लामखुट्टेको प्रकोप बढ्नु, साविकमा हुँदै आएका क्षेत्रमा कृषि तथा फलफूल खेती नहुनु, नदी जल प्रवाहमा ह्रास आउनु, पानीका मुलहरू सुक्नु आदि जलवायु परिवर्तनका कारण देखापरेका केही ज्वलन्त समस्याहरू हुन् । अझ कतिपय स्थानहरूमा जलवायु परिवर्तनकै कारण मानव बसाइँ सराइ पनि भएको पाइन्छ । भूमिगत जल सतह क्रमशः घट्दै जानुमा समेत जलवायु परिवर्तनलाई कारक मानिएको छ । मौसमले हाम्रो दिनचर्यालाई समेत प्रत्यक्ष प्रभाव पारिराखेको हुन्छ ।
नेपालमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनका समयमा र बाँकी २० प्रतिशत अन्य समयमा हुने गर्दछ । मनसुनको समयमा नदी खोलामा बग्ने पानी वा सोझै आकाशबाट परेको पानीलाई सङ्ग्रह गर्न सकियो भने निश्चित रूपमा अहिलको जस्तो भयावह अवस्थालाई न्यून गर्न सकिन्छ । बाढीको रूपमा बग्ने पानीलाई नदी खोलाहरूमा सम्भव भएसम्म बाँध बाँधेर केही समयसम्म रोक्न सकियो भने पनि नेपालको तराई क्षेत्रमा बर्सेनि आउने डुबान समस्यालाई धेरै हदसम्म न्यून गर्न सकिन्छ ।
यसका साथै प्राकृतिक रूपमा रहेका ताल तथा पोखरीमा आकाशे पानीको भल जम्मा गर्ने तथा आवश्यकताअनुसार पोखरी तथा जलाशय निर्माण गरी आकाशे पानीलाई भण्डारण गर्न सकिन्छ । यस्ता किसिमका जल भण्डारबाट एकातिर बाढी, डुबानजस्ता समस्यालाई कम गर्न सकिन्छ भने अर्कोतर्फ भूमिगत जलस्रोतलाई पुनर्भरण गर्न र आवश्यकताअनुसार सिँचाइलगायत अन्य प्रयोजनका लागि पनि यसरी भण्डारण गरेको पानी उपयोगमा ल्याउन सकिन्छ । विश्व मौसम दिवसले हामीलाई यस्तै शिक्षा प्रदान गरोस् ।
(लेखक जल तथा ऊर्जा आयोगको सचिवालयमा सहसचिव हुनुहुन्छ । )