शिक्षा सबै क्षेत्रकाे सम्पूर्ण विकासको प्रमुख आधार हाे । देशमा दिगाे शान्ति, सम्वृद्दि र विकासको लागि शिक्षा महत्त्वपूर्ण रहेकाे हुन्छ । संघीय लाेकतान्त्रिक गणतन्त्र मुलुक नेपालकाे संविधान २०७२ काे धारा ३१ माशिक्षा सम्बन्धि हकलाई मौलिक हकका रुपमा राख्नुका साथै आधारभूत तह सम्मकाे शिक्षा अनिवार्य र नि:शुल्क बनाई सबैको पहुँच पुर्याउनुपर्ने र माध्यमिक तहसम्म नि: शुल्क शिक्षा पाउने हककाे प्रत्याभूति गरेकाे छ । आर्थिक रुपले विपन्न ,अपांगता भएका र पिछडिएका वर्ग र समुदायका नागरिकलाई उच्च शिक्षासम्म नि: शुलक शिक्षा पाउने हक समेत रहेकाे छ । तर यसप्रकारकाे व्यवस्था व्यवहारमा कार्यान्वयन भएकाे पाईंदैन ।बालबालिकाहरु आर्थिक अभावमा विद्यालय पहुँचबाट टाढा रहनुका साथै भर्ना भएका बालबालिकाहरु बिचमै विद्यालय छाेडेर आफ्नाे विद्यालय शिक्षालाई निरन्तरता दिन सकिरहेकाे पाईंदैन । नेपालकाे शिक्षा क्षेत्रमा देखा परेका समस्याहरु समाधान गर्न धेरै शिक्षा आयाेगहरु विगतमा बने तर आयाेगका प्रतिवृदनमा उल्लेख गरिएका सुझाव एवम् नितिहरु प्रभावकारी कार्यान्वयन हुन सकेनन र गरिएन पनि ।ती आयाेगमा रहेका व्यक्तिहरुले आफुलाई सरकारी शिक्षाविद्काे लाेगाे झुन्डायाउन भने सफल भएको देखिन्छ ।
नेपालकाे संविधान २०७२ अनुसार संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे प्रथम जननिर्वाचित सरकारले पनि निकै प्रचारप्रसार गरेर सरकारी शिक्षाविद्हरुबाट राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक गरेकाे भएता पनि त्यसको प्रभावकारी कानुनी व्यवस्था सहीत कार्यान्वयन हुन सकिरहेको देखिंदैन । शिक्षाकाे आधार भनेकाे विद्यालय शिक्षा हाे, विद्यालय शिक्षाकाे गुणस्तरीयता विना उच्च शिक्षाको लक्षय पनि पूरा हुन सक्दैन । नेपालकाे संविधान ,राष्ट्रिय शिक्षा निति २०७६ र पन्ध्रौं याेजनाकाे आधार पत्र अनुसार शिक्षा क्षेत्रमा केही सुधारकाे अपेक्षा राखिएको भएता पनि कार्यान्वयन पक्ष फितलाे भई शैक्षिक समस्याहरु समाधानतर्फ अगाडि बढेको देखिंदैन । विद्यालय शिक्षामा आमुल सुधारका लागि संघीय शिक्षा ऐन बनाउनुपर्ने हुन्छ जुन बन्न नसक्दा प्रदेश तथा स्थानीय ऐनहरु समेत प्रभावित भई शिक्षा क्षेत्रमा अपेक्षा गरे अनुसार परविर्तन हुन सकिरहेको छैन । शिक्षामा वर्षेनी अरबौं बजेट विनियोजन गरिएको भएता पनि प्रभावकारी कार्यान्वयन र लक्षित तहसम्म पारदर्शि किसिमले काम नहुने/ नगर्ने प्रवृत्तिका कारणले अपेक्षा गरे अनुसारकाे उपलब्धि हासिल हुन सकिरहेको पाईंदैन । विनियोजित बजेटलाई समयमै काम नगरी आ. व. काे अन्त्यतिर मात्रै हतारमा थाेरै काम गरेकाे देखाएर कागजी रुपमा मात्रै बजेट खर्च गर्ने परिपाटी अन्त्य हुनुपर्दछ ।
शैक्षिक क्षेत्रमा किन समस्या यथावत रहे त ? सबैको लागि र विशेष तथा लक्षित समुहका बालबालिकाहरुकाे गुणस्तरीय शिक्षामा पहुँच पुगिरहेकाे छैन ।अपेक्षा गरे अनुसारकाे सिकाई उपलब्धि हासिल हुन सकिरहेको छैन ।विषयगत र विद्यार्थी संख्याकाे आधारमा शिक्षक व्यवस्थापन गर्न सकिएकाे छैन ।प्राविधिक एवम् व्यावसायिक जिवनाेपयाेगी र राेजगारमुलक शिक्षाकाे सहज र सर्वसुलभ व्यवस्था गर्न सकिएकाे छैन ।विश्वविद्यालय तहका शिक्षा अनुसन्धानमा आधारित बनाउन सकिएकाे छैन । आदी यस्ता समस्याहरुबाट नेपालकाे शिक्षा गुज्रिएको छग्रामीण क्षेत्रमा बसाेबास गर्ने सिमान्तकृत वर्गका जनताका छाेराछाेरीले पनि पुर्ण छात्रवृत्तिमा व्यवसायिक एवम् प्राविधिक शिक्षा प्राप्त गर्न पाउने अवस्था निर्माण गर्नुपर्दछ र शिक्षा हासिल गरेर स्वदेशमा नै राेजगारी एवम् जनताकाे सेवा गर्न पाउने अवसर उपलब्ध गराउन सक्ने जनशक्ति उत्पादन गर्न सक्ने गरि बजेटमा व्यवस्था गरिनुपर्दछ । नेपालकाे शिक्षामा देखिएका समस्या र संवैधानिक हक एवम् व्यवस्थाका साथै राष्ट्रिय शिक्षा नीति अनुरुप प्रभावकारी ढंगले उचित बजेट र बजेटकाे पारदर्शी बाँडफाँड र अपेक्षित उपलब्धि प्राप्त हुने किसिमले काम नगर्ने र कामकाे अनुगमन नहुने हाे भने देशकाे समग्र शिक्षा क्षेत्र धरासयी भई शैक्षिक एवम् दक्ष जनशक्ति उत्पादन र राेजगारी तथा आत्मनिर्भर जनशक्ति निर्माण गर्न खाेज्नु कल्पना भन्दा बाहिर हुन जान्छ ।
वर्तमान सन्दर्भमा विद्यालय शिक्षाकाे सर्वसुलभताका साथै माध्यमिक तहसम्म नि:शुल्क गरिनुपर्दछ । सार्वजनिक शिक्षाप्रतिकाे आकर्षण वृद्धि गर्न बालबिकास कक्षा देखि कक्षा ५ सम्म दिवा खाजाकाे व्यवस्था , शिक्षकहरुकाे पेशागत मर्यादा र स्थायित्व कायम गर्नुपर्ने, बालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुकाे तलब वृद्धि गरि न्युनतम रुपमा श्रमऐन अनुसार पारिश्रमिककाे व्यवस्था गरी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने,राहत अनुदान काेटा लगाएत विद्यालय तहमा मा कार्यरत सबै किसिमका शिक्षकहरुकाे सेवा सुविधाकाे ग्यारेन्टी तथा पेशागत स्थायित्वका लागि कानुनी व्यवस्था गर्नुपर्ने ,तहगत बढुवा काे व्यवस्था ,विद्यार्थी संख्याकाे अनुपातमा विषयगत शिक्षककाे दरबन्दी मिलान तथा पुनर्वितरण, विद्यालय गाभ्ने, सबै विद्यालयमा ईन्टरनेट सुविधाकाे पहुँच वृद्धि ,विद्यालयमा रिक्त रहेकाे आधारभुत तहकाे दरबन्दीलाई क्रमश: एक जना नर्सकाे दरबन्दीमा रुपान्तरण गरि प्रत्येक विदालयमा नर्सकाे व्यवस्था गर्नुपर्ने,त्यसैगरी कुल दरबन्दीमा नघट्ने गरि प्रत्येक विद्यालयमा १ जना खेल शिक्षक काे दरबन्दी कायम गर्ने , छात्राहरुलाई नियमित नि: शुल्क सेनिटरी प्याड वितरण ,कुल दरबन्दीमा नबढ्ने गरि दरबन्दी मिलान एवम् रिक्त हुँदा प्रत्येक विद्यालयमा कम्युटर प्रविधि शिक्षक दरबन्दी कायम गर्ने (आधारभुत तह र मा वि तह) साथै विद्यालयमा शैक्षिक सु- शासन, उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्नु जरुरी छ ।
सबै विद्यालयहरुमा भौतिक पुर्वाधार सहितकाे आकर्षक र प्रविधियुक्त सिकाई बाताबरणको विकास गरि विद्यालय बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्नुका साथै कक्षा छाड्ने र कक्षा दाेहाेर्याउने दरलाई शुन्यमा झारी अपेक्षित सिकाई उपलब्धि हासिल गर्ने तर्फ शिक्षाकाे बजेट केन्द्रीत हुनुपर्दछ र प्रभावकारी कार्यान्वयन र अनुगमन गरिनुपर्दछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमकाे विकास गरि प्राविधिक जनशक्ति उत्पादन गरि अन्तरास्ट्रिय बजारमा प्रतिस्पर्धाी र समकक्षी बनाउनुपर्दछ । स्वराेजगारका माध्यमबाट आत्मनिर्भर भई स्वदेशमै राेजगारीका अवसर सिर्जना गरि देशकाे आर्थिक विकासमा टेवा पुर्याउन सक्ने जनशक्ति उत्पादनतर्फ ध्यान पुर्याउनु पर्दछ । सामुदायिक विद्यालयमा अध्ययन गरि उच्च शिक्षा हासिल गर्नका लागि कम्तीमा पनि ५०% छात्राहरुलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक एवम् खाेज तथा अनुसन्धानात्मक शिक्षा दिनेगरी सरकारकाे नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरिनुपर्दछ ।
शिक्षाले राेजगारी ग्यारेन्टी गर्न सक्नु पर्दछ । स्थानीय ,प्रदेश र संघीय तीनै तहका सरकारले शिक्षाको अधिकार क्षेत्र स्पष्ट पारी आपसी साझेदारीमा शैक्षिक क्षेत्रलाई खाेज र अनुसन्धानमा आधारीत उच्च शिक्षाकाे विकास गर्दै गर्न समाजवाद उन्मुख बजेट बिनियाेजन गर्नसक्नुपर्दछ । शिक्षाक्षेत्रमा विगतदेखि देखिएका सबै खाले विभेद , विकृति र विसंगति सदाका लागि अन्त्य गर्दै पारदर्शी ,प्रभावकारी शैक्षिक सु-शासन कायम राख्दै अगाडि बढ्न सकिए मात्रै साँचाे अर्थमा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे शिक्षा नीति ,नियम,ऐन,पेसाप्रति विश्वास बढ्नुका साथै गर्व महसुस गर्न पुग्दछन र आम शैक्षिक सराेकारवालाहरुकाे अपेक्षा पनि यही हुनसक्दछ ।
-हरि प्रसाद रिजाल
सहायक प्राध्यापक : श्री महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर
ठेगाना : बेलौरी न. पा. ३, कञ्चनपुर