कञ्चनपुर, ०१ जेठ । विश्वभरीका स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको महामारीका बेला कसरी नागरिकको स्वास्थ्य सुरक्षित पार्ने भन्ने चिन्ता छ, तर लकडाउनको मौकाछोपी कञ्चनपुरका निजी मेडिकल क्लिनिकका संचालकले नागरिकको स्वास्थ्य सुधार भन्दा पनि खेलवाड तर्फ ध्यान केन्द्रित गरेका छन् । कोरोनाको संक्रमण थप बढ्न नदिन नेपाल सरकारले देशभर लकडाउन जारी राखेको छ । प्रायः सबै व्यापार व्यवसाय बन्द भएपनि औषधी पसल एवं स्वास्थ्य संस्थाहरु चौबिसै घण्टा खुला गर्न सरकारले नै आग्रह गरेको छ । तर कञ्चनपुरका विभिन्न निजी मेडिकलका सञ्चालकले कमाउने मौका भन्दै नागरिकको स्वास्थ्यमा खेलवार्ड गरिरहेको पाइएको छ ।
लकडाउनको मौकाछोपी सकभर बिरामी चेकजाँच गर्न आलटाल गर्ने, चेकजाँच गरिहाले पनि म्याद गुुज्रिएका औषधी दिने, त्यो पनि साविक मुल्य भन्दा बढी रकम असुल्ने गरेको पाइएको छ । नागरिक स्तरबाट निजी मेडिकलहरुले लुट मच्चाएको, हरेक औषधीमा बढी रकम लिएको गुनासो बढेपछि जिल्ला स्थित सरोकारवाला निकायले संयुक्त रुपमा बजार अनुगमन थालेको छ । यसै सातादेखि जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत खगेन्द्र भारती नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कञ्चनपुरका विभिन्न औषधी पसलबाट म्याद गुज्रिएका औषधी चर्को रकममा बिक्रि वितरण गरेको फेला पारेको छ ।
संयुक्त बजार अनुगमन टोलीले शुक्लाफाँटा नगरपालिका १० झलारी बजारको अविशेक आयुर्वेद मेडिकल हल, जीवन मेडिकल हल, शिवशक्ति आयुर्वेद औषधी पसल, कार्की मेडिकल स्टोरमा म्याद गुज्रिएका औषधी फेला पारेको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेका जेके मेडिकल, निर्मल मेडिकल हलमा म्याद सकिएका औषधी भेटिएका छन् । भने नागार्जुन मेडिकल हलले क्लिनिक नविकरण नगरेको पाइएको छ । महेन्द्रनगरका सम्झाना मेडिकल हल, दोगडा केदार भूमिराज फार्मेसी, झलारीका सुवास फार्मेसी, प्रख्यात मेडिकलमा कुनै कैफियत नदेखिएको र उनीहरुले नियम संगत मेडिकल सञ्चालन गरेको पाइएको छ ।
थुप्रै मेडिकलहरुमा म्याद सकिएका औषधी बिक्रि वितरणका लागि राखिएको अवस्थामा भेटिएको संयुक्त बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका तर्फबाट गएका प्रतिनिधी बेद प्रकाश चौधरीले बताउनु भयो । केही दिन पहिले म्याद सकिएका औषधी बिक्रि गरेको पाइएपछि महेन्द्रनगरको तिवारी मेडिकललाई जरिवाना गराइएको थियो । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ । बजारमा इमान्दारितापुर्वक काम गर्ने औषधी पसल पनि छन्, गैरकानुनी काम गर्ने पनि छन्, राम्रालाई पुरस्कृत र नराम्रालाई दण्डित गर्न उपभोक्ताले माग अघि सारेका छन् ।
तर कञ्चनपुरका औषधी व्यवसायीले महामारीका बेला कालोबजारी नगरेको दाबी गर्दै आएका छन् । निजी औषधी पसलको साझा संस्था नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुढाले म्याद सकिएको वा गलत काम नगरेको दाबी गर्नुभयो । ‘मैले सबै औषधी पसल एवं व्यवसायीसंग पटक पटक आग्रह गरेको छु, ‘उहाँले भन्नुभयो, ‘दुई हात जोडेर अनुरोध गर्छु, महामारीका बेला कालोबजारी नगर्नुहोस्, एक जनाको बदमासीले सामाजिक प्रतिष्ठा र आशा र भरोसाप्रति विश्वास नगुमाउनुहोस् ।’ नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने कुनैपनि औषधी व्यवसायीलाई बचाउन नसकिने उहाँको भनाइ छ ।