हरिश चन्द्र बाग, कञ्चनपुर, ०१ बैशाख ।
नयाँ वर्ष वि.सं. २०७६ सालको आज पहिलो दिन वैशाख १ गते । सुदूरपश्चिमका पहाडी समुदायले विसु पर्व मनाउँदै छन् । हरेक वर्ष बैशाख एक गतेलाई सुदुरपश्चिमेलीहरुले विसु पर्वका रुपमा मनाउने गर्छन् । खासगरी सुदूरपश्चिमका पहाडी ७ जिल्ला र यिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरुले पनि नयाँ वर्षलाई विसु पर्वका रुपमा मनाउने गर्दछन् ।
विसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन पनि रहेको छ । एकापसमा सिस्नु लगायो भने सबै बिष नष्ट हुन्छ भन्ने जनविश्वास भएकाले यसो गरिने स्थानीय बताउँछन् । यो पर्वमा विशेष गरेर देवर–भाउजुले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नु अत्यधिक मात्रामा भिटामिन ए भएको र यसको नियमित सेवनले पत्थरीको रोगबाट समेत मुक्ति पाइन्छ ।
यस्तै सुदुरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै बिषहरु नष्ट होऊन् भनेर बिसुलोडा चलाउने परम्परा रहेको छ ।
यो समयमा सुदूरपश्चिमेलीहरुका घरघरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्ति पिठहरुमा पनि पुजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य शहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरु बिसु पर्व मनाउन कै लागि घर फर्किए पछि सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा विसुको चहलपहल झन बढेको छ ।
सुदूरपश्चिमकै तराईका जिल्ला कञ्चनपुर र कैलालीका थारु समुदायले माघ १ गते मकर संक्रान्तीका दिन नयाँ वर्ष मनाउने भएपनि हाल आएर थारु समुदायले पनि पहाडी समुदायको संस्कृतिको अनुशरण गर्दै आजका दिन मीठामीठा खानेकुराहरु खाने, साथीभाइ तथा आफन्तजनसँग भेटघाट गर्ने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।