हरिश चन्द्र बाग, कञ्चनपुर, २७ बैशाख । कञ्चनपुरको सीमा नजिक भारतको रुद्रपुर, काशीपुर र खटिमा स्थित क्वारेन्टाइनमा रहेका करिब एक सय भन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । त्यहाँ रहेका नेपालीहरुलाई भारतीय प्रशासनले आफ्नो देश जाउ भन्दै क्वारेन्टाइनबाट निष्काशन गरेपछि उनीहरु खटिमा स्थित बस अड्डा लगायतका स्थानमा अलपत्र परेका हुन् । अलपत्र परी सडकमा निस्केका नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले लकडाउन उलंघन गरेको भन्दै कुटपिट समेत गरेको खबर प्राप्त भएको छ ।
भारतको खटिमा बस अड्डा र आसपासका क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरु कञ्चनपुर, कैलाली र डडेल्धुरा लगायतका जिल्लाका व्यक्तिहरु रहेको बताइएको छ । क्वारेन्टाइनबाट निष्कासित भई अलपत्र परेका नेपाली नागरिकहरुलाई कांग्रेस आइ उत्तराखण्डका प्रदेश महासचिव भूवन कापरीले खाजा नास्ता र पानी दिई सहयोग गर्नुभएको छ । महासचिव कापरीले भारतीय भूमिमा अलपत्र नेपालीहरुको उद्धारका लागि तत्काल नेपाल सरकारले अग्रसरता देखाउनु पर्ने बताउनु भयो । कापरी सहित कांग्रेस आइको एक टोली शनीबार नेपालीहरुलाई अपलत्र पारेको विरोधमा केही समय धर्नामा बसेको थियो ।
रोजगारी तथा अध्ययनको सिलसिलामा भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिकहरु कोरोना भाइरसको संक्रमणको त्रासले घर फर्किने क्रममा नेपाली सीमा नजिक पुगेका थिए । तर करीब एक महिना भन्दा लामो समययता उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको थियो । कञ्चनपुरसंग जोडिएका भारतीय सीमा क्षेत्र बनबासा, टनकपुर, पलिया लगायतका क्षेत्रमा रहेका ३ सय भन्दा बढी नेपाली नागरिकहरुले उद्धारका लागि सरकार संग हारगुहार गरिरहेको छन् ।
त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तिबोझा निवासी किशोर टमटाकी श्रीमति कविता टमटाको सुत्केरी हुने समय नजिकिएको र भारतीय क्षेत्रमा आफुहरु बिचल्लीमा परेकोले उद्धारका लागि सरकारसंग आग्रह गर्नुभएको छ । सुत्केरी हुने समय नजिकिदै गर्दा भारतमा रहँदा असुरक्षित महशुस भइरहेको कविता टमटाको भनाइ छ । छोरी आयुषा टमटा समेत गरी भारतको हरियाणा गुरुग्राम हायतपुरमा मजदुरी गरी बस्दै आएका टमटा परिवार सहित दर्जनौँ अलपत्र नेपाली नागरिकहरु घर फर्कन चाहन्छन् ।
त्यसैगरी भारतका विभिन्न क्षेत्रमा रोजगारी तथा अध्ययनका लागि गएका प्रवासी नेपालीहरुले समेत आफ्नो दैनिकी निकै कष्टकर बनिरहेकोले यथाशीघ्र उद्धारका लागि आवाज उठाइरहेको अवस्था छ । भारतको दिल्ली लगायत आसपासका क्षेत्रमा अलपत्र अवस्थामा रहेका सयौँ नेपाली नागरिकहरुलाई हालसम्म आफुहरुले सहयोग गर्दै आएको भएपनि अब उहाँहरुलाई नेपाल पुगाउने व्यवस्था गर्नुपर्ने कञ्चनपुरको बेलौरी घरभई हाल भारतको दिल्ली स्थित आइजे एयरपोर्टमा कार्यरत इन्जिनियर अर्जुन भण्डारीको भनाइ छ ।
त्यस्तै, कञ्चनपुर घरभई भारतमा रहनुभएका राम प्रसाद काफ्ले, जय बहादुर बोहरा, सन्तोष गिरी, अर्जुन बोगटी, गोपाल बोहरा, सुरज राना, डम्मर सिंह, अरुण कुमार बब्ली सहित प्रवासी नेपाली संघ भारत लगायतका विभिन्न संघसंस्थाहरुले कञ्चनपुरवासी नेपाली नागरिकहरुको उद्धारका लागि पहल गरिरहेको बताइएको छ । अहिले स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि र पत्रकारहरुसंग उद्धारको पहलका लागि प्रवासमा रहनु भएका नेपालीहरुले निरन्तर संवादको क्रमलाई जारी राखेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडासंग यस विषयका कुराकानी गर्दा उहाँले तत्काललाई केही गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ । अलपत्र नेपालीहरुलाई अहिलेको अवस्थामा नेपाल भित्र्याउन नसकिने बताउँनु हुँदै प्रमुख जिल्ला अधिकारी खतिवडाले भारतीय अधिकारीहरु र दुतावाससंग समन्वय गरेर त्यहीँ व्यवस्थापनको क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले गृहमन्त्रालयबाट निर्देशन आएपछि भने अलपत्र नेपालीहरुको उद्धार गर्नसकिने बताउँदै आउनु भएको छ ।