हरिश चन्द्र बाग, कञ्चनपुर । सुदूरपश्चिमका अधिकांश क्षेत्रमा आइतबार देखि निरन्तर परिरहेको वर्षाले कञ्चनपुर र कैलालीका नदिनालाहरुमा पानीको बहाव बढेको छ । चुरे फेँदमा रहेका कञ्चनपुर जिल्लाका केही गाउँमा बाढी समेत पसेको छ भने यहाँका किसानले गरेको बगर खेती पनि पूरै सखाफ भएको छ । यहाँका दोँदा, सुनबरा, स्याली, झर्नाखोला, चौधर, जोगबुढा, महाकाली लगायतका नदिको बगरमा लगाइएको तरकारीखेती नष्ट हुँदा करोडौँ मूल्य बराबरको क्षति हुनुका साथै बन्दाबन्दीको समयमा तरकारी अभाव हुने देखिन्छ । यहाँका किसानहरुले हजारौँ बिघा जति बगरमा लौका, फर्सी, काक्रा, तरभूजा, खरभुजा, मुला, प्याज, टमाटर, सुर्खानी लगायत बेमौषमी तरकारी खेति गर्दै आउनु भएको थियो ।
यहाँका किसानले उत्पादन गरेको तरकारी कञ्चनपुर र कैलालीका विभिन्न बजारका साथै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पठाउने गरिन्थ्यो । तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले जारी गरेको बन्दाबन्दीका कारण बजारसम्म पुर्याउन नसकेको तरकारी नदिमा आएको अकल्पनीय बाढीले बगाएर लगेको छ । नदि किनारका किसानहरुको तरकारी खेतीमा क्षति पुगेपछि सम्बन्धित पालिकामा रहेका कृषि शाखा मार्फत लगत संकलनको कार्य भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताउनु भएको छ ।
सोही निरन्तरको वर्षाले नदिमा पानीको बहाव बढ्दा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ बल्मीमा दोदा नदिमाथी निर्माणधीन पुल भत्किएको छ । निर्माण कम्पनी अनक वाइपी हिमसगरमाथा कन्सट्रकसनले निर्माण गरिरहेको उक्त पुलको अधुरो संरचना नदिमा आएको बाढीले गर्दा पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । कुल २९ करोड बढीको लागत ठेक्का सम्झौतामा निर्माणाधीन पुल बैशाख महिना मै आएको बाढीले क्षतिग्रस्त हुँदा डेढ करोड मूल्य बराबरको नोक्सान भएको निर्माण कम्पनीका इन्जिनियर रमेश खताखोको भनाइ छ ।