विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तिव्र रुपमा फैलिरहेको छ,यसको नियन्त्रण र रोकथामको लागि नेपालमा सरकारबाट बन्दाबन्दी गरिएको पनि एक महिना भन्दा बढि भईसकेको छ । बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भई अन्योलग्रस्त अवस्थामा रहेको छ। अझै अवस्था लम्बिने सम्भावना देखिन्छ । यो संक्रमणलाई रोक्ने र नियन्त्रण गर्ने एउटै उपाय बन्दाबन्दी नै हो, यसको अहिले सम्म औषधी पत्ता लागेर प्रयोगमा आएको देखिंदैन । यो बन्दाबन्दीको प्रभाव विद्यालयमा पनि परेको छ र लाखौ विद्यार्थीहरुले घरमा बसेर समय विताउनुपरेको छ भने अर्कोतिर कक्षा १०,११ र १२ कक्षाको परीक्षा हुन सकेको छैन । अर्कोतिर नयाँ शैक्षिकसत्रमा नयाँ विद्यालय प्रवेश गर्ने उमेरका विद्यार्थीहरुको विद्यालय जाने चाहना पूरा हुन सकेको छैन भने विद्यालयमा कक्षा १-९ सम्मका परिक्षाफल प्रकाशित नभएकोले कक्षा उत्तीर्ण भई नयाँ पाठ्यपुस्तक सहित माथिल्लो कक्षामा पढ्न पाउने चाहना पूरा नहुँदा निराश भएका छन । विद्यालय जाने र सिक्ने अवसर नहुँदा यो समयलाई कसरी सिकाउने भन्ने बहस चलिरहेको छ,त्यसमा अहिले अनलाईन कक्षाले चर्चा पाईरहेको छ । अनलाईन कक्षा उपयोगी,सान्दर्भिक भनेर कक्षा सञ्चालन भईरहेको पनि सुनिन्छ । नेपालमा अनलाईन कक्षा उपयोगी,सान्दर्भिक र प्रभावकारी छ ? नेपाली गाउँबस्ती,कुनाकाप्चा,शहर,हिमाल,पहाड,तराई र देशको सम्पूर्ण भू-भाग र क्षेत्रमा सम्पूर्ण बालबालिकाहरुको पहुँचमा पुग्न सक्छ ? सम्पुर्ण बालबालिकाहरुले अनलाइन कक्षाका लागि आवश्यक पर्ने यन्त्र,उपकरण,विद्युत,ईन्टरनेट लगायत सबै सुविधा सहजै उपयोग गर्न सक्ने अवस्था छ ?
नेपालमा वि.सं. २०६८ को जनगणना तथ्याकं अनुसार ७.३ प्रतिशत घरपरिवारले कम्पयुटर,५१ प्रतिशतले मोवाईल फोन प्रयोग गर्दछन् । तर यो तथ्याकं आजको मितिसम्म ७/८ वर्षको अवधिमा वृद्धि भएको छ,तर पनि कम्पयुटर,मोबाईल,टेलिभिजनको संख्या दुरदराजका ग्रामीण क्षेत्रमा शहरी र विकसित ग्रामीण क्षेत्रमा नै बढि थियो र वृद्धि पनि भएको होला । अहिले अनलाईन कक्षाको बहस र सन्दर्भ चलिरहँदा शहरी क्षेत्र केन्द्रीत र माथिल्ला कक्षाहरु खासगरी माध्यमिक तह (९-१२) मा मात्रै चलेका र चलाउने बहस , छलफल गरेको बुझिन्छ । विद्यालयमा बालविकास कक्षा देखि कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकाहरु ४ वर्ष उमेरदेखि १७ वर्ष सम्मका बालबालिकहरु हुन्छन भने सबै कक्षाका सबै उमेरका बालबालिकाहरुलाई सिक्ने र सिकाउने व्यवस्था हुनुपर्छ कि पर्दैन ? अनलाईन कक्षा सबै कक्षाका विद्यार्थीलाई पहुँच हुनेगरी सम्भव हुन सक्ला कि नसक्ला ? चुनौति छ तर अवसर पनि ल्याउँछ,सम्बन्धित पक्ष गम्भीर हुनपर्दछ । हामीले गर्न सक्ने सामान्य काम त गर्न सकेका छैनौ,परिस्थिति प्र्ति हामि कति चिन्तित छौ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । अनलाईनबाट हामी शिक्षकहरुले कक्षा १-९ सम्मका परिक्षाफलको आन्तरिक रुपमा तयार पारी प्रकाशित गर्दै विद्यालय तहको पाठ्यपुस्तक (पाठ्यपुस्तक रकम निकासा भएको होला नभए निकासा गराउन र सम्बन्धित निकायको सहयोग लिएर) र परीक्षाफल सहित विद्यार्थीका घर घरमा गएर विद्यार्थी र अभिभावकहरुलाई कोरोना सम्बन्धि छलफल र सचेतनाका साथै समसामयिक शैक्षिक अवस्थाका बारेमा छलफल गरि विद्यार्थी र अभिभावकलाई समय मिलाएर स्व-अध्ययन गर्न र अघिल्लो र पछिल्लो कक्षाका विषयबस्तुहरु अध्ययन गर्न ,शैक्षिक स्तरबारे जानकारी दिन त सकिन्छ नि ? अतिरिक्त ज्ञान हासिल गर्न प्रेरित गर्ने , हामी सबै शिक्षकहरु ९० प्रतिशत भन्दा बढि त विद्यालय वरिपरि नै बसोबास गर्ने छौँ । जसबाट शिक्षक ,विद्यार्थी र अभिभावक विच बन्दाबन्दीले बढाएको दुरी कम गर्न सकिन्छ ।यो बन्दाबन्दीको समयमा शिक्षकहरुले आफ्नो विद्यालयको वार्षिक, शैक्षिक, आर्थिक योजनाहरु, परीक्षाफल र शैक्षिक गुणस्तरको समीक्षा आदीका बारेमा छलफल गर्न सक्दछन्।
अहिले सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई अनलाईन कक्षा सम्भव छैन,यसैलाई मात्रै महत्त्व र प्राथमिकता दिने हो भने नेपालको शिक्षामा ठुलो असमानता देखिन्छ र शैक्षिक क्षेत्र धराशाही हुन्छ। यो भनिरहँदा अनलाईन कक्षाको विरोध गरेको होईन, सिक्ने र सिकाउने कुरामा विभेद हुनसक्छ,भन्ने मात्रै हो।वर्तमानको अवस्था विश्लेषण र भावी स्पष्ट योजना बनाएर मात्रै यसलाई प्रभावकारी बनाउन सकिन्छ ,नेपालमा विद्यार्थी भन्दा पहिला शिक्षकलाई अनिवार्य प्रशिक्षण दिनुपर्दछ।अहिले संकट आएर मात्रै होईन,संकटपछि पनि कक्षाकोठालाई प्रविधिसंग जोडेर शिक्षण गर्नु अनिवार्य भईसकेको छ।अशिक्षा ,अज्ञानता,विकटता र गरिबीले अझै नेपाली समाज आक्रान्त छ,नियमित विद्यालय गएर न्यूनतम शुल्क तिर्न नसकेर अनि आवश्यक शैक्षिक सामग्रीको अभावमा विद्यालय छोड्नुपर्ने विद्यमान अवस्था छ,कक्षा १ मा भर्ना भएका विद्यार्थी संख्या कक्षा १० मा पुग्न सक्दैनन।किन त्यो अवस्था आयो? प्रत्येक शिक्षकलाई प्रशिक्षण सहित शैक्षिक साधनस्रोत सम्पन्न बनाउनुपर्छ,हरेक विद्यालयमा इन्टरनेट सुविधा सहित पर्याप्त प्रविधिको सुविधा सम्पन्न पुर्वाधारहरु निर्माण गरि यसलाई प्रभावकारी बनाउनुपर्दछ।अहिलेको संकटमा भदौ पछि पठनपाठन गर्न सकेपनि शैक्षिकसत्रमा कुनै फरक पर्दैन ,अनलाईन कक्षामा पहुँच हुनेहरुबाट पहुँच नहुनेहरुलाई मनोवैज्ञानिक रुपमा निराश बनाउनु पनि सान्दर्भिक हुँदैन।सम्भव भएकाहरु र नभएकाहरुले पनि आफ्नो सिकाईलाई निरन्तरता दिई कक्षा १०,११ र १२ का विद्यार्थीहरुले आफ्नो परीक्षाको तयारी नियमित गर्दै घरमा बसी कोरोना विरुद्धको सामुहिक लडाइँमा विजयी र सफलता हासिल गरौँ ।``चुनौतीले अवसर पनि ल्याउँछ ´´।
सम्पूर्ण विद्यार्थीहरुमा उज्ज्वल भविष्यको शुभकामना !!
हरि प्रसाद रिजाल
सहायक प्राध्यापक : श्री महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर
ठेगानाः बेलौरी न. पा. ३, कञ्चनपुर