हरिश चन्द्र बाग, कञ्चनपुर, १२ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको बारेमा नागरिकहरुलाई सचेत बनाउन र यस सम्बन्धी गतिविधिहरु संकलनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको छ । यो समयमा कञ्चनपुरका पत्रकारहरु समेत जोखिम मोलेरै भएपनि सञ्चारकर्ममा क्रियाशील रहेका छन् । कोरोना बिरुद्धको लडाईँमा अग्रपंक्तिका योद्धाको रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरु रहनुभएको छ । उहाँहरुका लागि सरकारले अतिरिक्त सेवासुविधाको व्यवस्था गरेको भएपनि सञ्चारकर्मीहरुका भने अहिलेसम्म राज्यको ध्यान केन्द्रित हुन सकेको छैन ।
तर, कञ्चनपुरका केही मनकारी व्यक्तिहरुको सहयोगमा अधिकांश क्रियाशील पत्रकारहरुलाई सुरक्षा सामग्री प्रदान गरिएको छ । कोरोना भाइरसको जोखिमका बेला पनि आमनागरिकलाई सुसूचित गर्न निरन्तर समाचार संकलनमा खटिएका कञ्चनपुरका क्रियाशील पत्रकारहरु मध्ये ४० जनालाई विभिन्न दाताहरुको सहयोगमा प्रेस ज्याकेट, सेनिटाइजर, मास्क र ग्लोभ्स वितरण गरिएको राष्ट्रिय समाचार समिति भीमदत्तनगरका कार्यालय प्रमुख शेर बहादुर सिंहले जानकारी दिनुभयो ।
कञ्चनपुरमा रही विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकारहरु मध्ये जिल्लाको मध्यक्षेत्र झलारी र दक्षिणी क्षेत्र बेलौरी, बेलडाँडी र पुनर्वासका गरी जम्मा १५ जनालाई शुक्रबार उक्त सामग्री प्रदान गरिएको छ । व्यवसायी युवाहरु दिनेश मल्ल र राहुल भट्टको सहयोगमा प्राप्त ती सामग्रीहरु राष्ट्रिय समाचार समिति भीमदत्तनगरका कार्यालय प्रमुख शेर बहादुर सिंह र पत्रकार पदम राज भट्ट स्वयं उपस्थित भएर हस्तान्तरण गर्नुभएको हो ।
यसअघि कुमार श्रेष्ठ निर्माण सेवा र भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आशेफ कुँवर (भुन्टु) को सहयोगमा महेन्द्रनगर र दोधाराचाँदनीका गरी जम्मा २५ जना पत्रकारहरुलाई उक्त सामग्री प्रदान गरिएको थियो । रासस भीमदत्तका कार्यालय प्रमुख सिंहले छुटेका क्रियाशील पत्रकारहरुका लागि समेत सहयोग जुटाउने प्रयास गरिरहेको बताउनु भएको छ । उहाँले कोरोना भाइरसको जोखिममा पनि निरन्तर सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरुलाई सुरक्षित रहेर कार्य गर्न आग्रह गर्नुभएको छ ।