पृथ्वीमा मानिसको उत्पती संगसंगै विभिन्न जीवजन्तु, पशुपन्छी, व्याक्टेरिया, भाइरस, परजिविको पनि उत्पति भएको पाइन्छ । प्राणीहरु मध्ये सर्वश्रेष्ठ प्राणी मानिस भएको हुनाले विभिन्न क्षेत्रमा विकास तीब्र रुपमा गर्दै आइरहेको छ । पृथ्वीमा बढ्दो आधुनिकीकरण एवं सहरीकरणका साथै मानिसहरुको जनसंख्या पनि तीब्र रुपमा बढ्ने क्रममा छ । मानिसहरुका आवश्यकता पूरा गर्ने क्रममा पर्यावरणलाई समेत असर पर्दै आइरहेको छ । जसले गर्दा पर्यावरणीय चक्र खलबलिएको छ । जसरी समयानुकुल प्राणीहरुको वृद्धि विकास भइरहेको छ, त्यसैगरी विभिन्न व्याक्टेरिया, भाइरस, परजिविको पनि विकास भइरहेको छ । यी व्याक्टेरिया, भाइरस, परजिविहरुले विभिन्न समयावधिमा विश्वमा ठूलो महामारीको रुप लिई धेरै मानिसहरुलाई संक्रमित गरी मृत्युको मुखमा र्पुयाएको छ ।
त्यस्तै विभिन्न भाइरस मध्ये एउटा प्रमुख भाइरसको रुपमा रहेको छ, कोरोना भाइरस । मानवलाई असर गर्ने कोरोना भाइरसको सुरुवात सन् १९६० को मध्यबाट भएको पाइन्छ । यसरी यी भाइरसहरुले श्वासप्रश्वास सम्बन्धी समस्या गराउँदै आएको छ । कोरोना भाइरसले मानिस लगायत जनावरहरुलाई समेत संक्रमित गरिरहेको छ । कोरोना भाइरसका विभिन्न प्रकारहरु मध्ये एउटा प्रकार हो - SARS COV2 । जसले कोरोना भाइरस रोग गराउँदै आएको छ । जुन हालसालै चिनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा तीब्र रुपले फैलिरहेको छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्त्य तिरबाट SARS-COV2 (Severe Acute Respiratory Syndrome Corona Virus-2 नामक भाइरसले कोरोना भाइरस रोग (Corona Virus Disease) गराएको हुँदा WHO ले सन् २०२० को मार्च ११ का दिन यसलाई कोभिड १९ नामांकरण गरेको हो ।
साथै यसलाई नोबेल कोरोना भाइरस पनि भन्ने गरिन्छ । नोबेल कोरोना भाइरस भन्नुको मुख्य तात्पर्य सार्स (SARS) का कारण सन् २००३ को जुलाई महिना सम्म एशियाली देशहरु जस्तै चिन, हङकङ लगायत विश्वका २६ वटा देशहरुका ८०९६ जना मानिसहरुलाई संक्रमित गरी करीव ७७४ जनालाई मृत्युको मुखमा र्पुयाएको थियो । र सार्स कै जस्ता मिल्दाजुल्दा लक्षणहरु भएको कोरोना समूह अन्तर्गत कै भाइरस सन् २०१९ मा देखा परेको हुँदा यसलाई नोबेल कोरोना भाइरस भन्ने गरिन्छ । कोभिड १९ विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरी श्वासप्रश्वासमा भाग लिने अगंहरुलाई असर गर्दछ । शरीर भित्र प्रवेश गरिसकेपछि शुरुमा आफ्नो वृद्धि विकास गर्दै रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्दछ । शरीरमा प्रवेश गरेको सामान्यतया एक दुई हप्ता भित्र रुघा, खोकी एवं १०४ डिग्रीसम्मको ज्वरो आई मानिसलाई श्वासप्रश्वास गर्नमा समेत कठिनाई उत्पन्न गर्दछ । जसले गर्दा संक्रमितले राम्रो संग श्वासप्रश्वास गर्न नसकी मृत्यु अगाल्न विवश छ ।
हालसम्म कोभिड १९ को कुनै औषधि बनिनसकेको र विश्वका विकसित, विकाशिल र अविकसित गरी करिब २१० देशहरुमा आगोको झिल्को झैँ तीब्र रुपमा फैलिरहेको हुँदा मानव अस्तित्व नै संकटमा परेको छ । के यसबाट विश्वले छिट्टै उन्मुक्ति पाउँला ? त्यो भने हेर्न बाँकी नै छ । कोभिड १९ त एउटा उदाहरण मात्र हो, यदि मानवले आफ्नो बानी व्यवहारमा परिवर्तन नगरेमा यो भन्दा भयावह अवस्था नआउला भन्न सकिदैन । तसर्थ पर्यावरण एवं प्राणीहरुलाई कुनैपनि किसिमले असर नपुग्ने गरी विकासका कदमहरु चालिनुका साथै मानिसहरुले समेत आफ्ना बानी व्यवहारमा सकारात्मक परिवर्तन गरेमा पक्कै पनि यी यस्ता प्रकारका रोगहरुबाट छुट्कारा पाई स्वस्थ एवं दीर्घायु जीवन बिताउन सकिने छ भन्ने कुरामा कुनै दुई मत छैन ।
लक्ष्मी बोहरा, बेलौरी नगरपालिका वडा नं. ६, कञ्चनपुर ।
सहायक प्राध्यापक : श्री महाकाली बहुमुखी क्याम्पस बेलौरी ।