हरिश चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दी अर्थात लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने, अतिविपन्न समुदायका घरपरिवार बढी प्रभावित भएका छन् । त्यस्तो समुदायका लागि तीनै तहका सरकारले राहत वितरण समेत गरिरहेको भएपनि कञ्चनपुरका सबै आरक्षपीडित तथा सुकुम्बासी बस्तीमा अहिले सम्म आवश्यकता अनुसार राहत प्याकेज पुग्न सकेको छैन ।
झण्डै दुई दशक अघि कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका आरक्ष पीडित परिवारको अहिलेसम्म पुर्नस्थापना त हुन सकेको थिएन नै । उनीहरुको बस्तीमा अहिलेको कोरोनो महामारीको समयमा पनि न कुनै राहत पुगेको छ न त स्वास्थ्य परामर्श सेवा नै । कञ्चनपुर जिल्लाभर दुई हजार चार सय बढी आरक्ष पीडित परिवार भएपनि सबै समक्ष राहत पुग्न नसक्दा साँझ बिहान छाक टार्नै गाह्रो भएको आरक्ष पीडित संघर्ष समितिका सचिव बिरभान सिंह नायकको भनाइ छ ।
चौतर्फी दबाब पछि अहिले केही स्थानीय तहका जनप्रतिनिधिहरुले आरक्ष विस्थापित बस्तीमा राहत वितरण गर्न सकारात्मक देखिएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित ढक्का शिविरमा बस्दै आएका ४० परिवार जतिलाई बेलडाँडी गाउँपालिकाले राहत वितरण गरेको छ । बेलडाँडी गाउँपालिकाले आफ्नो पालिकाबाट बिस्थापित घरपरिवारलाई मात्रै राहत प्रदान गरेको हो । यद्यपी उक्त शिविरमा ६ सय बढी विस्थापित परिवार भएकोले सबैलाई एउटै गाउँपालिकाले राहत वितरण गर्न नसकेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले बताउनु भयो ।
त्यस्तै, लालझाडी गाउँपालिकाले पनि आफ्नो पालिका क्षेत्र भित्रबाट विस्थापित ३५ घरपरिवार जतिलाई राहत वितरण गरेको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्य देवी महराको भनाइ छ । शिविरका सबै विस्थापित परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित पालिकाहरु बीच समन्वय आवश्यक रहेको उपाध्यक्ष महराले धारणा राख्नुभयो । त्यस्तै, शनिबार मात्रै बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले स्वयं ढक्का शिविरमा पुगेर साविक सुडा गाविसबाट बिस्थापित भई शिविरमा बस्दै आएका ९ घरपरिवारलाई राहत वितरण गर्नुभएको छ ।
कञ्चनपुरका एक दर्जन बढी शिविरहरुमा विभिन्न क्षेत्रबाट विस्थापित भएका परिवारहरु टहरा बनाएर बसिरहेका छन् । उनीहरु कुनै एक स्थानीय तहबाट विस्थापित नभई कञ्चनपुरका बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा र वेदकोट लगायतका स्थानबाट बिस्थापित भएकोले सम्बन्धित स्थानीय तहसंग समन्वय गरिने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताउनु भएको छ । उहाँले अधिकांश स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुसंग टेलिफोन वार्ता भएको र अधिकांशले तयारी गरिरहेको जानकारी दिनुभएको छ ।
यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का समन्वय संयोजक पल्लव राज भट्टले आरक्ष पीडितहरुलाई जहाँ आफ्नो मतदाता नामावली छ त्यही बाट राहत लिनु भनेकोले बेलौरी लगायत सम्बन्धित स्थानीय तहले तत्काल शिविरमा राहत वितरण गर्नुपर्ने सुझाव दिनुभएको छ । शिविरमा बसिरहेका आरक्ष पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन उहाँले सामाजिक सञ्जाल फेशबुक मार्फत पनि स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
कञ्चनपुरका आरक्षपीडित जस्तै सुकुम्बासी, भूमिहीन, मुक्त हलिया, मुक्त कमैया, दैनिक ज्यालादारी गरी गुजारा चलाउने समुदाय पनि छन् । यद्यपी बन्दाबन्दी अर्थात लक डाउनको समयमा वडा स्तरबाट वितरण भइरहेको राहत प्याकेजमा हुनेखाने वर्ग पनि समेटिएको तर अतिविपन्न थुप्रै परिवारले राहत नपाएको व्यापक जनगुनासो सुनिने गरेको छ । यसतर्फ पनि सरोकारवाला निकायको गम्भीर रुपमा ध्यानाकर्षण हुन जरुरी छ ।