ग्रामीण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सुसूचित नगराउँदा सम्म सभ्य समाजको विकास सम्भव छैन । सार्वजनिक सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, लगायत प्रवर्द्धनात्मक अभियानमा एन.बी. मिडिया नेटवर्क केन्द्रित रहेको छ । सञ्चार माध्यमहरू शहरमुखी र केन्द्रमुखी भई अगाडी बढिरहेको अवस्थामा ग्रामीण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरूमा जनचेतनाको लहर ल्याई स्थानीय स्रोत र साधनको पूर्ण रूपमा प्रयोग गरी समाजलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने कटिबद्धताका साथ एन.बी. मिडिया नेटवर्क स्थापना गरिएको हो ।
यसै अभियान अन्तर्गत वि.सं. २०७५ को सुरुवाती समयदेखि सामान्यतया www.nbkhabar.com वेब पेजबाट अनलाइन मिडियाको पहिलो संस्करणको प्रारम्भिक अभ्यास गरी यस क्षेत्रमा मात्र नभई देश तथा विदेशमा रहनु भएका यस क्षेत्रका नेपाली नागरिकहरूको रोजाइमा पर्न सफल भएकोमा हामी आफैमा गौरवान्वित छौँ । यसै सिलसिलामा वि.सं. २०७५ को अन्तिम तिर हामीले सोही अनलाइन मिडियालाई थप स्तर वृद्धि गरी ठुलो क्षेत्र समेट्ने अभ्यास गरिरहेका छौँ । हामीले अनलाइन न्युज पोर्टल मात्र नभएर अब अनलाइन रेडियो र अनलाइन टिभीको पनि प्रसारण गर्ने अभ्यास गरिरहेका छौँ । जसले गर्दा हाम्रा पाठक, श्रोता र दर्शकहरूलाई एउटै वेब पेजबाट सेवा दिन सक्छौँ भन्नेमा हामी विश्वस्त छौँ । त्यसका साथै समयानुकूल पाठक, श्रोता र दर्शकको आवश्यकताअनुसार हामी अगाडी बढ्ने छौँ ।
स्थापनाको सुरुवाती समयमै लाखौँको सङ्ख्यामा यो अनलाइन पत्रिका हेर्नेहरू हुनुहुन्छ । जसको कारण हामी गुणस्तरीय, परिमार्जित, परिष्कृत एवम् सर्व स्वीकृत समाचार, सूचना र जानकारी प्रकाशन गरी उत्कृष्ट सेवा दिन सक्छौँ भन्ने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौँ । विगतको समयमा झैँ सबैको सल्लाह,सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गरेका छौँ ।
क– एन.बी. मिडिया नेटवर्कको परिचय
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौँमा मिति २०७५ बैशाख ०४ गते दर्ता भएको एन.बी. मिडिया नेटवर्क कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवस्थित सञ्चार गृह (मिडिया हाउस) हो । आजको युग सूचना र सञ्चारको युग हो । सूचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रूपमा व्यवस्था गरिएको हुन्छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौँ पेस गरिएको प्रबन्ध पत्र र नियमावलीमा यो एक ठुलो मिडिया नेटवर्क बन्ने लक्ष्य र उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । यस मिडिया नेटवर्कले एफएम रेडियो, टेलिभिजन, अनलाइन न्युज पोर्टल, अखबार, छापाखाना स्थापना गरी प्रकाशन प्रसारणको काम गर्न सक्ने छ । यसका साथै, यस मिडिया नेटवर्कले विज्ञापन एजेन्सी, संवाद केन्द्र तथा साझेदारीमा विभिन्न तालिम, गोष्ठी, सेमिनार, कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।
ख– सञ्चार माध्यम अन्तर्गत हाल सञ्चालित अनलाइन ।।
बदलिँदो परिवेश र सूचना प्रविधि क्षेत्रमा भएको विकासलाई आत्मसात् गर्दै एन.बी. मिडिया नेटवर्कले आफ्नो स्थापना सँगै कञ्चनपुरको दक्षिणी क्षेत्रमा पहिलो पटक अनलाइन न्युज पोर्टल प्रकाशन सुरु गरेको छ । त्यस्तै, अनलाइन रेडियो र अनलाइन टेलिभिजनको प्रसारणको प्रारम्भिक अभ्यास पनि जारी छ । यस क्षेत्रका नागरिकहरू पनि इन्टरनेटको पहुँचमा पुगिसकेको हुँदा सूचना प्रविधिसँग अझ नजिक ल्याउन एन.बी. मिडिया नेटवर्क क्रियाशील छ ।
अध्ययन, भ्रमण तथा रोजगारीका सिलसिलामा देशका अन्य भूगोल तथा विदेशमा समेत रहनुभएका नागरिकहरूलाई पनि लक्षित एन.बी. मिडिया नेटवर्कले अनलाइनमा व्यापकता पाएको छ । एन.बी. मिडिया नेटवर्कको आफ्नै वेबसाइट www.nbkhabar.com मा ताजा ताजा समाचार, सूचना र जानकारी प्रकाशन हुँदै आएका छन् ।
ग– एन.बी. मिडिया नेटवर्कको लक्ष्य
एन.बी. मिडिया नेटवर्कले समाजको सर्वाङ्गीण विकासलाई ध्यानमा राखी आफ्नो लक्ष्य निर्धारण गरेको छ । सङ्घीय गणतान्त्रिक नेपालको नयाँ संविधान जारी भइसकेपछि सङ्घीयता कार्यान्वयन सँगै स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन तहका सरकार स्थापित छन् । समृद्धि र विकासका लागी अत्यावश्यक पारदर्शी, विभेद रहित, सुशासित, लोक कल्याणकारी र सम्बद्ध समाजको निर्माण गर्ने एन.बी. मिडिया नेटवर्कको लक्ष्य रहेको छ ।
घ– एन.बी. मिडिया नेटवर्कका उद्देश्यहरू
नयाँ नेपालको परिकल्पनाका रूपमा रहेको राष्ट्रिय तथा स्थानीय कला, साहित्य ,संस्कृति, राजनैतिक, शैक्षिक, खेलकुद, सामाजिक, आर्थिक र स्वास्थ्यका क्षेत्रमा चेतना र विकाशका लागि सशक्त ढङ्गले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो ।
एन.बी. मिडिया नेटवर्कको उद्देश्य कञ्चनपुर जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने पनि हो । त्यसैलाई साकार पार्न एन.बी. मिडिया नेटवर्कले जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिङ्ग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनीतिक गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लाको दक्षिणी भेगमा पहिलो पटक अनलाइन न्युज पोर्टल (वेबसाइट) सञ्चालन गरेको छ ।
एन.बी. मिडिया नेटवर्कले आफ्नो लक्ष्य प्राप्त गर्न निम्न उद्देश्यहरू बोकी अगाडी बढिरहेको छ ।
कञ्चनपुर जिल्ला र आसपासका क्षेत्र भित्र रहेका हरेक स्थानीय तह तथा सरकारी कार्यालयहरूले सम्पादन गर्ने विकास निर्माणका काम तथा त्यसले समाजमा पारेको सकारात्मक प्रभाव र असल शासनका लागि पैरवी गर्ने ।
- खुल्ला राजनीति र सहभागितामूलक विकासका लागि जनमत तयार पार्ने ।
- नेपाली परम्परा, संस्कृति, कला तथा धार्मिक संरक्षणका लागि महत्त्वपूर्ण योगदान पु¥याउने ।
- प्राकृतिक सम्पदा, मठमन्दिर तथा अन्य परम्परागत रीतिरिवाज तथा पर्वहरूको प्रचारप्रसार गरी पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने ।
- समाजमा महिला, बालबालिका तथा अल्पमतमा परेका अशिक्षित असहाय तथा विपन्न वर्गको पहिचान तथा तिनीहरूको उत्थानका लागि सहयोग गर्ने ।
- आधुनिक प्रविधिको प्रयोग तथा आधुनिक कृषि प्रणालीको बारेमा जानकारी गराई कृषि पेसालाई प्रोत्साहन गर्ने ।
- नयाँ उत्पादन प्रविधि तथा त्यसको बजारका लागि जानकारी गराउने ।
- सही, सन्तुलित अनि विश्वसनीय समाचार प्रकाशन गरी समाजलाई सूचना जगत्मा उल्लेखनीय योगदान पु¥याउने ।
- समाज परिवर्तनका लागि मानवअधिकार सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने ।
- विभिन्न उपयोगी शिक्षामूलक कार्यक्रमहरूको सञ्चालन र प्रकाशन गर्ने ।
- स्वस्थ समाज निर्माणको लागि स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन र प्रकाशन गर्ने ।
- स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर सम्बन्धित क्षेत्रको विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने गरी साझेदारीमा नागरिक र जनप्रतिनिधिहरूबिच विकास र समृद्धि केन्द्रित बहस गर्ने गराउने ।
- र यस कम्पनीको प्रबन्ध पत्रमा उल्लेखित उद्देश्यहरूलाई संस्थागत गरी कार्यान्वयन गर्ने ।।
ङ– एन.बी. मिडिया नेटवर्कका प्रतिबद्धता
समाजको प्रगति र समृद्धिका लागि एन.बी. मिडिया नेटवर्क निम्न कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।
- आधारभूत तहमा पारदर्शिता र सु–शासन बिना समाजले अग्र गति पाउँदैन । समाजको अग्रगमन सम्झौता रहित सर्त हुनु पर्दछ ।
- खुल्ला र प्रतिस्पर्धी समाज, कानुनी राज्य र समानता नभए कसैको भलो हुँदैन । समाजको व्यापक हितको लागी एन.बी. मिडिया नेटवर्कका कार्यक्रमहरु लक्षित हुनुपर्दछ ।
- निष्पक्षता, सन्तुलन र सहीपन आधुनिक पत्रकारिताका मूलभूत सिद्धान्त हुन् । यिनै सिद्धान्तको मातहतमा रही कार्य गर्न एन.बी. मिडिया नेटवर्क प्रतिबद्ध छ ।
धन्यवाद ।
हरिश चन्द्र बाग
(अध्यक्ष)
एन.बी. मिडिया नेटवर्क, कञ्चनपुर