किशोर कुमार तामाङ, कञ्चनपुर, २८ चैत्र । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले हाल बन्दाबन्दी (लक डाउन) जारी राखेको छ । सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) का कारण दैनिक ज्यालादारी गरी खाने मजदुरहरुको जिविकोपार्जनमा असहज भएको छ । यसैक्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि राहत वितरण कार्य गरिरहेको छ भने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।
यसैबीच, कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको प्रभु बैंक लिमिटेड आइबीआरडी शाखाले ५० हजार मुल्य बराबरको खाद्यान्न सामग्री नगरपालिकालाई सहयोग गरेको छ । बैंकका शाखा प्रमुख गौरब शर्माले नगर प्रमुख जीवन राज थापा, उपप्रमुख शारदा शर्मा बिष्ट र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयलाई संयुक्त रुपमा उक्त खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी पुनर्वास २ निवासी दाउत तामाङबाट २५ हजार मुल्य बराबरको चामल सहयोग स्वरुप प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
यसैगरी, कञ्चनपुर इसाइ समाज शाखा पुनर्वासका कोषाध्यक्ष कर्णजीत तामाङ्गबाट ५४ हजार ३ सय ५ रुपैया र सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रिन्सिपल संजय थापाबाट २५ हजार सहयोग प्राप्त भएको छ । पुनर्वास नगरपालिकाको विपद् व्यवस्थापन कोषमा यसअघि पुनर्वास ५ निवासी पुनर्वास नगर खेलकुद विकास समितिका कार्यक्रम संयोजक खडक विक्रम थापाबाट २५ हजार, नगरपालिकाका प्रवक्ता भारमल सुनारबाट ११ हजार, पुनर्वास ६ निवासी शिक्षक एक नारायण पोख्रेलबाट १० हजार, स्वास्थ्यकर्मी जनक सिंह धामीबाट ८ हजार, पुनर्वास ६ निवासी शिक्षक राजेन्द्र कुमार श्रेष्ठबाट २ हजार सहयोग प्राप्त भएको छ ।
त्यसैगरी, संस्थागत रुपमा कञ्चन नेवाः समाज पुनर्वासले ३१ हजार, नेपाल रेडक्रस सोसाइटी, पुनर्वासले ३० हजार रकम सहयोग गरेका छन् । पुनर्वास ८ को श्रीनिवास दिव्यधामका संकल्पकर्ता स्वामी गोविन्दाचार्यले करिब ३ क्विन्टल चामल, ३५ किलो नुन र १६ लिटर खानेतेल नगरपालिकालाई सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको नगर प्रवक्ता भारमल सुनारले जानकारी दिनुभयो । यसैक्रममा, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सहकार्य भएमा पुनर्वास नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने र कोरोनाको महामारी रोकथाममा टेवा पुग्ने दाबी गर्नुभयो ।
थप अपडेट (मिति २०७६ चैत्र २८ गते राति ८ बजे)
विश्वव्यापी रूपमा अनियंत्रित तरिकाले फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा नियन्त्रण गर्न पुनर्वास नगरपालिकाद्वारा आइबिआरडी स्थित प्रभु बैंक लिमिटेडमा स्थापना गरिएको राहत कोषका लागि शुक्रबार पनि थुप्रै दाताहरुको सहयोग प्राप्त भएको छ ।
पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारका अनुसार, पुनर्वास उद्योग वाणिज्य संघले रु. ४५ हजार, श्री जनजागरण सामुदायिक बन उपभोक्ता समुहले रु. ५० हजार, कञ्चन डेभलपमेण्ट बैंक पुनर्वास शाखाले रु. ३५ हजार र श्री पृथ्वी पशुपालन महिला सहकारी संस्था पुनर्वासले रु. ३७ हजार ९ सय ७५ को चेक पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापालाई हस्तान्तरण गर्नुभएको छ ।
कोरोना भाइरस विरुद्धको लडाईँमा केन्द्रित पुनर्वास नगरपालिकाको यो महाअभियानमा सहयोग गर्नु भएकोमा पुनर्वास नगरपालिकाले सबै सहयोगी दाता तथा दातृ संघसंस्था प्रति कृतज्ञता ज्ञापन गरेको छ । यसका साथै, यसरी नै अन्य सहयोगी संघसंस्था तथा ईच्छुक महानुभावहरूलाई समेत सहयोगका लागि नगरपालिकाले आह्वान गरेको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले उल्लेख गर्नुभयो ।