कृष्ण नेपाली, कञ्चनपुर, २५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्रम भाट (सरल) ले कञ्चनपुरका तीन स्थानीय तहमा भारी परिमाणमा खाद्यान्न सहयोग गरेका छन् । सोमबारदेखि खाद्यान्न सहयोग हस्तान्तरण जारी राखेका नेकपा युवा नेता सरलले मंगलबार शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । नेकपा क्षेत्र नम्बर २ का संयोजक रण बहादुर महरा र सचिव चन्द्रकान्त भट्ट (सिके) मार्फत शुक्लाफाँटा नगर प्रमुख दिल बहादुर ऐरलाई राहत हस्तान्तरण गरिएको हो ।
सत्ताधारी नेकपा निकट अनेरास्ववियु कञ्चनपुरका युवा नेता किशोर भट्टले शुक्लाफाँटा नगरका प्रमुख ऐरलाई नेकपा क्षेत्र नम्बर २ का संयोजक महरा र सचिव भट्टले राहत हस्तान्तरण गर्दै गरिब, विपन्न, दैनिक मजदुरी गरि गुजारा चलाउने परिवारका लागि खाद्य सामग्री पारदर्शी ढङगबाट वितरणमा जोड दिए । नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्याला गरि गुजारा चलाउने मजदुरका लागि भन्दै स्थानीय तहलाई खाद्यान्न सहयोग गरेका थिए ।
बेदकोट नगरपालिका १० निवासी सरल हाल काठमाण्डौँमा बस्दै आएका छन् । सरलले शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरलाई पत्र पठाउदै उक्त राहत कोरोना भाईरसको संक्रमणबाट प्रभावित समुदायलाई राहत दिलाउनका लागि स्थानीय तह अनुरुप २० क्विन्टलका दरले चामल सहयोग गरेको जनाएका छन् । कोरोना बिरुद्ध एकजुट हुन समेत नेता सरलले आब्हान गरेका छन् । कृष्णपुर नगरपालिका जस्तै शुक्लाफाँटा र बेदकोट नगरपालिकामा समेत २० क्विन्टलका दरले चामल हस्तान्तरण गरिने छ ।
नेकपा क्षेत्र नम्बरका संयोजक रण बहादुर महरा, सचिव चन्द्रकान्त भट्ट (सिके) बेदकोट नगरका अध्यक्ष लाल परिवार, नेकपा युवा नेता केपी कलौनी सहितका नेकपा क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले उक्त राहत रकम स्थानीय तहलाई हस्तान्तरण गरेका थिए । नेकपा सुप प्रदेशका सदस्य ओम बिक्रम भाट (सरल) ले हस्ताक्षर गरेको पत्रमा कोरोना भाईरस बिरुद्ध नगरपालिकाले चाल्ने हरेक अभियानमा सकृय साथ र सहयोगको बचन सहित प्रतिबद्धता जाहेर गरिएको छ ।
सरलले आफु अनुपस्थित भएपनि नेकपा नेता कार्यकर्ता मार्फत स्थानीय तहलाई संकटको घडीमा खाद्यान्न सामग्री हस्तान्तरण गरेपछि स्थानीय तहका जनप्रतिनिधीले सरललाई धन्यवाद दिदै उनीप्रति आभार प्रकट गरेका छन् । नेकपा नेताले दिएको राहत बुझ्दै शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले राहत सदुपयोग गर्दै गरिब, विपन्न दैनिक रुपमा ज्याला मजदुरी गरि गुजारा चलाउने समुदायलाई निष्पक्ष ढङगबाट वितरण गर्ने बचन प्रकट गरे ।