कञ्चनपुर, २० चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमणले विश्वमा त्रास मच्चाइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकमा विपद् व्यवस्थापन कोषको खाता समेत खोलेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरमा रहेको निजी विद्यालय लिटिल बुद्ध एकेडेमीले एक लाख रुपैँया सहयोग स्वरुप जम्मा गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीको नेतृत्वमा भीमदत्त नगरपालिका कार्यालयमा गएको टिमले एक लाखको चेक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेको छ । लिटिल बुद्ध एकेडेमीका संचालक समेत रहेका प्रिन्सिपल मौनी सहित संचालकत्रय उत्तम थापा, महेन्द्र चन्द, प्रेम बहादुर खातीको संयुक्त टिमले नगर प्रमुख विष्ट सहित प्रमुख प्रशासकीय अधिृकत पुष्कर भट्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो ।
लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल मौनीले कोरोना जस्तो महामारीबाट बाँच्न त्यसको सामना गर्नका लागि सहयोग गरेको बताउनु भयो । चेक बुझ्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भविष्यमा आइपर्ने विपद् सामना र व्यवस्थापनका लागि कोष स्थापना गरेको बताउँदै कोषमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगलाई परिचालन गरिने उल्लेख गर्नुभयो । उहाँले विपद्बाट पुर्व तयारी र सर्तकता आवश्यक रहेको औल्याउँदै सहयोगी हातहरुप्रति अभार प्रकट गर्नुभएको छ ।
सहकारी संस्थाबाट सहयोगको प्रतिबद्धता ।।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाहरुबाट सहयोगको प्रतिबद्धता आएको बताउनु भयो । उहाँका अनुसार नगर क्षेत्रका ९ वटा सहकारी संस्थाले कोषमा रकम दिने बचन दिएका छन् । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था र मेघा बचत तथा सहकारी, निङलाशैनी बहुउद्देश्सीय सहकारी, सहयात्रा, जनज्योती बचत तथा ऋण सहकारी, सृजनशील बचत तथा ऋण सहकारी, हाम्रो उपभोक्ता सहकारी, युवा बचत सहकारी र सुर्योदय सहकारी संस्थाले कोषमा रकम जम्मा गर्ने बचन दिएका छन् । उनीहरुले पनि केहीदिन भित्रै चेक हस्तान्तरण गर्ने जनाएका छन् ।
भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन अपिल गरेको छ । भीमदत्त नगरपालिकाले राष्ट्रिय वाणिज्य बंैंक शाखा महेन्द्रनगरको भीमदत्त प्रकोप व्यवस्थापन कोष (ग–७–२) ४१८००३०७०२०००२ मा रकम जम्मा गरेर सहयोग गरिदिन आह्वान गरेको छ । मुख्य सीमा नाका भारतसगै जोडिएको भीमदत्त नगरपालिकाले गड्डाचौकीमा २३ फागुन देखि हेल्थ डेस्क स्थापना गरेर भारतबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्य चेकजाँच देखि घरदैलो अभियान सञ्चालन गरेको छ । भीमदत्त नगरपालिकाले एक सय शय्याको क्वारेन्टाइन निर्माण देखि कोरोना सचेतना कार्यक्रम निरन्तर जारी राखेको छ ।