सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत सङ्गीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन् प्रकाश कलौनी । पछिल्लो पिँढी आधुनिकतातर्फ ढल्किरहेका बेला सुदूरपश्चिमको मौलिकता लोप हुन लागेको भन्दै कलौनी यसतर्फ सक्रिय भएका छन् । मान्छेको पहिचान उसको देश, कला र संस्कृतिसँग जोडिएको हुन्छ । जबसम्म देश, कला तथा संस्कृति रहन्छ तब सम्म उसको पहिचान रहन्छ । तर पछिल्लो समय हामी आफ्नो कला तथा संस्कृति बिर्सेर विदेशी कला संस्कृतिमा रमाउने गरेका छौँ ।
नेपालका हजारौँ कला संस्कृतिहरू मध्ये एक हो सुदूरपश्चिमको कला संस्कृति । नेपालको सुदूरपश्चिम प्रदेशको आफ्नै कला, संस्कृति, भाषा रहेको छ । नेपालको अन्य संस्कृतिहरू जस्तै सुदूरपश्चिमको कला संस्कृति पनि लोप हुने अवस्थामा छन् । तर नेपाल तथा सुदूरपश्चिमको कला संस्कृतिलाई माया गर्ने एक युवा सुदूरको कला जगेर्ना गर्न निरन्तर लागि परेका छन् । बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–२ शर्माली तल्लो स्वराडमा बुवा भानदेव कलौनी र आमा कमला देवी कलौनीका जेठा छोराका रूपमा वि.सं. २०५० सालमा जन्मेका प्रकाश कलौनीले आफ्नो आधारभूत शिक्षा गाउँमै गरे ।
सानैबाट कला संस्कृतिलाई माया तथा समाज सेवा गर्ने स्वभावका कलौनी माध्यमिक शिक्षाका लागि कञ्चनपुर पुगे । माध्यमिक शिक्षाका क्रममा पनि कलौनी कञ्चनपुरको जागृति बाल क्लबको अध्यक्ष रही सामाजिक कार्य तथा आफ्नो कला संस्कृति जगेर्नामा निरन्तर लागिरहे । माध्यमिक शिक्षा सकिएपछि उच्च शिक्षाका लागि काठमाडौँ पुगेका कलौनीले जब सुदूरपश्चिमको गौरा पर्व काठमाण्डौको टुँडिखेलमा देखे उनी अचम्ममा परे । उनले काठमाण्डौको टुँडिखेलमा देखेको गौरा पर्व आफ्नो गाउँको गौरा भन्दा फरक देखेका थिए ।
कलौनी सम्झँदै भन्छन् ‘मैले काठमाण्डौको टुँडिखेलमा देखेको गौरामा केही फरकपन जस्तो थियो ।’ ‘त्यसपछि मलाई सुदूरको कला संस्कृति जगेर्ना गर्न अझ केही गर्नु पर्छ भन्ने सोच आयो र यो क्षेत्रमा काम गर्न थाले । कलौनीले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना तथा प्रचारप्रसार गर्ने उद्देश्यले एउटा सुदूर खबर वान नामक युटुव च्यानल सञ्चालनमा ल्याए । जसमार्फत विभिन्न सामग्रीहरू सम्प्रेषण गर्दै आएका छन् । उनले सुदूरपश्चिमका कला संस्कृति, भाषा, भूगोललाई समेटेर गीत निर्माण गरी च्यानलमा अपलोड गरी सुदूरको संस्कृति सम्बन्धी सबैलाई चेतना दिन थालेका छन् ।
उनले हाल सम्म ‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत रचना गरी अपलोड गरी सकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरू पनि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन् ।