हरिश चन्द्र बाग, कञ्चनपुर, १४ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि आइसोलेशन कक्षहरु तयार गर्न शुरु गरेको छ । बेलौरी नगरपालिकाको नवनिर्मित भवनमा ५० शय्याको आइसोलेशन तयार गर्ने उद्देश्यका साथ शुक्रबार १५ शय्यासम्मका क्वारेन्टाइन कक्षहरु तयार भइसकेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, हाललाई क्वारेन्टाइनका रुपमा तयारी गरिरहेको र आवश्यक परेको खण्डमा थप सुविधाहरु सहितको आइसोलेशन बनाउन सकिने योजना रहेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि यसअघि बेलौरी नगरपालिकाले नगर क्षेत्र भित्रका चार स्थानमा हेल्थ डेस्क र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा निगरानी कक्ष सञ्चालनमा ल्याएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । यसका साथै विभिन्न माध्यमबाट जनचेतनामूलक सन्देश प्रवाह गर्ने र कालोबजारी हुन नदिन नियमित बजार अनुगमनको कार्यलाई तीब्रता दिइएको उहाँले जानकारी दिनुभयो ।
बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीका अनुसार, बेलौरी बजारमा रहेको अमित शपिङ्ग सेन्टरका सञ्चालक तथा बेलौरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरि खरेलले बेलौरी नगरपालिकाले तयार गरिरहेको ५० शय्याको आइसोलेशन कक्षमा आवश्यक पर्ने केही सामग्रीहरु उपलब्ध गराउनु भएको छ । बेलौरीका प्रतिष्ठित व्यापारी खरेलले १० प्याकेट मास्क, पर्दा र तन्नाको कपडा ३ थान निःशुल्क उपलब्ध गराउनु भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, निड्स नेपालले बेलौरी नगरपालिकालाई पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सामग्रीहरु हस्तान्तरण गरेको छ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले शुक्रबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीलाई ग्लोब्स् ८ सय थान, डिटोल साबुन २ सय ४० थान, सेनिटाइजर ३५ थान, हेण्डवास १ सय ८ थान र मास्क ४ सय ३० थान हस्तान्तरण गर्नुभएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।
त्यस्तै, ४ सय थान ग्लोब्स्, १ सय थान मास्क, १२ थान सेनिटाइजर, १० थान डिजिटल थर्मोमिटर र २० थान डिटोल साबुन बेलौरी नगरपालिका वडा नम्बर १० लाई समेत उपलब्ध गराइएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, शुक्रबार नै १ हजार थान मास्क, १ हजार थान ग्लोब्स्, ४५ थान सेनिटाइजर, १ सय ४४ थान हेण्डवास र २ सय ४० थान डिटोल साबुन पुनर्वास नगपालिकालाई समेत निःशुल्क उपलब्ध गराइएको छ ।
यसअघि, निड्स नेपालले कञ्चनपुरका अन्य स्थानीय तहहरुसंग पनि समन्वय गर्दै कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक केही सामग्री उपलब्ध गराइसकेको छ । यो समयमा आत्यावश्यक सामग्रीहरुको माग बढी भएपनि देशभर आवागमन बन्द गरिएका कारण सहजै उपलब्ध गराउन सकिने अवस्था नरहेको निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले बताउनु भयो । उहाँले अत्यावश्यक सामग्रीहरुको आपुर्तीका लागि प्रशासनले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
यसैबीच, बेलौरी नगरपालिकाले प्राप्त सामग्रीहरु मध्ये केही इलाका प्रहरी कार्यालय बेलौरी र सशस्त्र प्रहरी बल, बडर आउट पोष्ट बेलौरीलाई प्रदान गरेको छ । कोरोना भाइरस रोकथामका लागि देशभर निषेधाज्ञा जारी रहेको समयमा अहोरात्र जनताको सेवामा खटिने सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गरी दुवै सुरक्षा निकायलाई मास्क, ग्लोव्स्, सेनिटाइजर र व्हाइट पेन्ट ब्रस हस्तान्तरण गरिएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।
यता, देशभर निषेधाज्ञा जारी भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । बेलौरी नगरपालिकाले भने नगर क्षेत्र भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने अति विपन्न र गरीब घरपरिवारको तथ्यांक संकलन गर्न थालेको छ । नगरप्रमुख पोतीलाल चौधरीले सबै वडाध्यक्षहरुलाई आआफ्ना वडा क्षेत्र भिर रहेका अतिविपन्न परिवारको लगत संकलन गर्न निर्देशन सहित परिपत्र गरिसक्नु भएको छ ।