काठमाडौँ, ०९ चैत्र । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत्र १० गते बिहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन ।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौँ नेपाली फर्किएका छन् । यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
एकतर्फी हो कि सहमतिमा सीमा बन्दको निर्णय लिइएको भन्ने प्रश्नमा सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं ।’ लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णयमा पुगिने उनले बताए ।
भोलिबाट नेपाल ‘लकडाउन’ ।।
यो निर्णय कार्यान्वयनसँगै नेपाल ‘लकडाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइसकेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै यही चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए । देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि भोलि १० गतेबाट रोकिने छ ।
#अनलाइन खबर