सुदूरपश्चिम प्रदेश काली–कर्णाली बीचको मैदानी भाग कैलाली–कञ्चनपुरको पुरानो सदरमुकाम स्थित बेलौरी भन्सार १६० वर्षको जीर्ण अवस्थामा पनि सेवा गर्न तत्पर छ । ईतिहासमा कैलाली कञ्चनपुरको प्रमूख भन्सार हाल प्रस्तावित नाका भन्सारलाई अघोषित नाका भन्सार मान्न सकिन्छ । दशकौँ पहिले चौमास (असार–असोज) बाहेक आठ महिना अत्यन्त व्यस्त रहने यस भन्सारमा निकासी पैठारी पुर्जीका लागि हप्ता दिनसम्म पनि पालो पखर्नु पथ्र्यो भन्नेकुरा अहिले दन्त्य कथाझैँ लाग्छ ।
नेपाल–भारत भन्सार पद्धति समय सापेक्ष परिवर्तन भइरहनु, बेलौरीबाट सदरमुकाम विस्थापित हुनु, द्वन्द्वकालमा बेलौरी बजारबाट बैंक, वित्तिय संस्था, सुरक्षा निकाय महेन्द्रनगर सर्नु, शान्ति सम्झौता पछि पनि पुनस्र्थापित बेलौरी भन्सारमा पहिले चालु रहेको चारपाङ्ग्रे सवारी साधन, सुविधा भन्सारको सुविधा समेत कटौती भएर आउनु, बेलौरी बजार देखि भारत सिमासम्मको सडकखण्ड अलपत्र अवस्थामा पुग्नु आदि भन्सार स्तरोन्नतिका बाधक हुन् ।
भन्सारको स्वामित्वको झण्डै पाँच बिघा जमिन, एउटा दुई तले र दुईटा एकतले पक्कि घर भएको, एक किलोमिटर भित्रै नेपाल–भारत सीमा विन्दुमा भारत तर्फ पक्कि सडक भएको, एक किलोमिटर भित्रै सडक सञ्जालमा सुविधा सम्पन्न भारतीय बजार खजुरीया रहेको, बीचमा कुनै वनजङ्गल नदिनाला नभएको, नेपाल–भारत दुवै देशले बेलौरी खजुरीया आधुनिक नाका भन्सारको प्रकृया अगाडी सारेको अवस्था भन्सार स्तरोन्नतिका सकारात्मक पक्ष हुन् ।
" बेलौरी भन्सारमा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, कैलाली भन्सार कार्यालय, बेलौरी छोटी भन्सार कार्यालय " नामको साइनबोर्ड राखिएको छ । भन्सार कर्मचारी मध्ये कार्यालय सहयोगी मात्र भेटिन्छन् । दुईजना सुब्बाहरु पनि सेवारत हुनुहुन्छ भन्ने सुनिन्छ । तर सुब्बाहरुको लागि आवासको राम्रो सुविधा नभएको, आवास गृहको घेरा पर्खाल नभएको, कार्यालय कक्षको घेरा पर्खाल नभएको, शुद्ध खानेपानीको सुविधा नभएको, भन्सार नजिक प्रहरी चौकी नभएको भन्ने आदि कारणले कहिलेकाहीँ दिनमा १÷२ घण्टाको लागि मात्र उपस्थित हुने गरेको सुनिन्छ । “यहाँ कामनै छैन सुब्बासापहरु जस्तालाई यहाँ बस्ने सुविधापुर्ण वातावरण पनि छैन । आवश्यक परेमा हामी फोन गरेर धनगढीबाट तुरन्तै बोलाउन सक्छौं” भनेर उपस्थित कार्यालय सहयोगीको भनाइ हुन्छ ।
सडकबाट हेर्दा भन्सारको दुईतले घर देखिदैन । परिसरमा रहेका दुईवटा पीपलका रुख र चौतारा पनि देखिदैनन् । पीपलका रुख बेलौरी भन्सारमा त्यसबेला सञ्चालित नेपाल राष्ट्र बैंक काउन्टर अफिसका तत्कालिन कार्यालय सहयोगी जग बहादुर श्रेष्ठले रोपेका हुन् । एउटा चौतारो श्रेष्ठ परिवारकै लगानीमा निर्माण भएको र अर्को चौतारो बैंक परिवार, भन्सार परिवार, बैंक सुरक्षा गार्ड आदिको सहयोगबाट निर्माण भएको कुरा जानकारहरुको भनाइ छ । सडकबाट चौतारा सम्म जाने बाटो पनि छैन । भन्सार परिसर र सडकको जग्गामा फैलिएको झाडीले केही देखिदैन ।
घरको भित्तामा पन्ध्र, बिस फिट अग्ला पिपलका बोटहरु हुर्केका छन् । जङ्गल भित्रको दुई तले जीर्ण घर, भूत–बङ्गला जस्तै देखिन्छ । यसरी प्रत्यक्ष र परोक्ष रुपमा भन्सारले आफ्नो परिसर र सडक जग्गामा झाडी पालेको छ । झाडी भित्र लुकेको दुई तले घर भित्र जङ्गली जीवजन्तु, खराब गतिविधि गर्ने, जो कोही पनि निर्धक्क लुकेर बस्ने जस्तो वातावरण बन्नु अशोभनीय, दुखद मात्रै नभएर खतरा जनक पनि हो । अन्तर्राष्ट्रिय सीमा नजिक, सडक छेउ, नेपाल प्रवेश द्वारमा नै सरकारी स्वामित्वमा रहेको जग्गा र भवनको यस्तो दुरावस्थाले सन्त्रासको वातावरण बनेको स्थिति सुरक्षा, स्वाभिमान, प्रतिष्ठा र राष्ट्रियता सित जोडिएको गम्भीर विषय भएकोले बेलौरी छोटी भन्सार र त्यसलाई नियमन गराउने उपल्लो संस्था कैलाली भन्सार आफ्नो जवाफदेहिता बहन गर्नमा निकै पछाडि परेको देखिन्छ ।
सडकबाट देखिने गरी पशुको टाउकोका कङ्काल समेत रुखमा झुन्ड्याइएका छन् । भन्सार कर्मचारी स्वयम् वा जो जसले पनि भन्सार प्रवेश बिन्दु मै यसरी जीवजन्तुका हाडखोड टाङ्गेको दृश्य धार्मिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, कानुनी, नैतिक कुनै पनि दृष्टिले मानवीय कार्य हुन सक्दैन ।

सडक स्तरोन्नति गर्ने काम अगाडि बढाउन भनी स्थानीय सरकार (बेलौैरी नगरपालिका) ले मैनाहा देखि नेपाल–भारत सीमा क्षेत्रसम्म बेलौरी–कलुवापुर सडकखण्डको जग्गा भूलबस कोही कसैले कब्जा गरेर अवाद गरेको भए खाली गर्न र अब कुनै किसिमका खेतीपाती नगर्न, खनजोत नगर्न २०७६ पुस ११ मा पहिलो पटक ३५ दिने सूचना जारी गरेको र दोस्रो पटक माघ २९ गते १५ दिने ताकेता सूचना जारी गरेको अवस्थामा सुरु सूूचनाको तीन महिना बितिसक्दा सम्म पनि बेलौरी छोटी भन्सारले निरन्तर अवज्ञा गरिरहनु अशोभनीय कार्य हुनुका साथै कानुनी तथा नैतिक कर्तव्य उल्लंघन पनि हो ।
यस्तो संवेदनशील विषयमा बेलौरी नगरपालिका, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनैतिक दल, बेलौरी उद्योग बाणिज्य संघ, बेलौरी नगर विकास समिति, सञ्चारकर्मी, बुद्धिजिवी समाजसेवी, चेतनशील सबै वर्गको सजगता र सक्रियताको अपेक्षा गरिन्छ भने बेलौरी नगरपालिकाले सम्बद्ध सडक स्तरोन्नतिका अरु निर्धारित कार्यक्रम सम्बन्धमा गरेको ढिलासुस्ती र उदासिनता प्रति चिन्ता र चासो बढ्नु आम सरोकारको विषय बनेको छ ।
पंक्तिकार केशव राज जोशी तत्कालीन महाकाली उच्च मावि बेलौरीका पुर्व प्राचार्य हुन् ।