हरिश चन्द्र बाग, कञ्चनपुर, ०६ चैत्र । विश्वमा महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड –१९) को संक्रमणका कारण नागरिकहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरको बेलौरी नगरपालिकाले थप तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । बिहिबार बेलौरी नगरपालिका वडा नम्बर १ को २०१ सीमा पिल्लर नजिक, वडा नम्बर २ को थापा चौराहा र वडा नम्बर १० को भट्टेघाटमा स्वास्थ्य परीक्षण केन्द्र (हेल्थ डेस्क) स्थापना गरिएकोे बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो । यसअघि फागुन २६ गते सोमबारका दिन बैशाखा भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरिएको थियो । बेलौरी नगर कार्यपालिकाको यही चैत्र १ गते बसेको बैठकले कोरोना भाइरसको संक्रमण भित्रिन फैलिन नदिन र शंकाष्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी उपचार गर्न बेलौरी नगरपालिका वडा नम्बर १, २ र १० मा हेल्थ डेस्क थप गर्ने र जनचेतनामुलक विभिन्न कार्य गर्ने भन्ने निर्णय पनि गरिएको प्रवक्ता नेपालीले बताउनुभयो । उहाँले यही चैत्र १० गते तय भएको बेलौरी नगरपालिकाको नगर सभा समेत स्थगित गरिएको जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसंगको खुल्ला सिमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले त्यहाँ आवतजावत गर्ने नागरिकको स्वास्थ्य परिक्षणका लागि बेलौरी नगरपालिकाले बेलौरी नगरपालिका वडा नम्बर ६ को बैशाखा भन्सार नाका सहित वडा नम्बर १, २ र १० मा पनि हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । नगर प्रमुख चौधरीले कञ्चनपुरको दक्षिणी क्षेत्रबाट भारत आवतजावत गर्दा हेल्थ डेस्क राखिएका स्थानहरुको बाटो मात्रै प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । हेल्थ डेस्कको स्थापना गर्दै नगर प्रमुख चौधरीले कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या भएकोले यसको संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि अत्यावश्यक रहेको औंल्याउनु भयो । त्यस्तै, उहाँले बढी भिडभाड र जमघट हुने मेलामहोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न नगराउन सार्वजनिक रुपमा अपिल गर्नु भएको छ ।
बेलौरी नगरपालिका स्वास्थ्य शाखाका संयोजक मान बहादुर चन्दका अनुसार मास्क, एप्रोन, इन्फ्रारेड थर्मामीटर लगायत आवश्यक उपकरणहरूको अभाव रहेको छ । त्यसको यथाशीघ्र आपुर्तीका लागि उहाँले सरोकारवाला निकायलाई अपिल गर्नुभएको छ । संयोजक चन्दले कोरोना भाइरसको संक्रमणबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिने भएकोले यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने जानकारी दिनुभयो । यस रोगबाट बच्नका लागि साथीभाइहरुसंग हात नमिलाउन, साबुन पानीले राम्ररी हात धुन, मुखमा मास्क प्रयोग गर्न, श्वासप्रश्वासका बिरामीको नजिक नजान, जनावरको सम्पर्कबाट टाढा रहन, अण्डा तथा मासु लगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न सबैमा आग्रह गर्नुभएको छ । कञ्चनपुरमा यसअघि भीमदत्त नगरपालिकाले गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइसकेको छ । यसका अतिरिक्त कञ्चनपुरका सबै स्थानीय तहहरुले सचेतना अभियान जारी राखेका छन् ।
यसैबीच, कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ०२ का कुखुरापालक व्यावसायिक कृषकहरूलाई कुखुरा तथा चल्ला राख्न बन्द गराउने निर्णय गरिएको बेलडाँडी गाउँपालिका वडा नम्बर ०२ का वडाध्यक्ष प्रेम राज खातीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले फार्ममा राखिएका कुखुराहरूको यथाशीघ्र व्यवस्थापन गर्न र थप कुखुरा नहाल्न अनुरोध गरिएको छ । यसका साथै वडा समितिको बैठकले भारतीय क्षेत्रबाट अबैध रूपमा आयात गरिने कुखुरा र कुखुराजन्य वस्तु ल्याउन नदिने र बैधानिक रूपमा सञ्चालनमा रहेका मासु बधशालाको यथोचित सरसफाइ गर्न लगाउनेे निर्णय गरिएको वडा अध्यक्ष खातीले जानकारी दिनुभएको छ ।