काठमाण्डौँ, ०४ चैत्र । कञ्चनपुर जिल्लाको भारतसँग जोडिएका सीमा क्षेत्रमा संयुक्त सीमा सर्भे टोलीले सीमांकन तथा सीमा स्तम्भ निर्माण गर्ने क्रममा सयौँ विगाहा नेपाली जमिन भारततर्फ पर्न गएको विषय भारतसँग उठाइने भएको छ । कञ्चनपुरको पुनर्वास, बेलौरी, बेल्डाँडी तथा भीमदत्त नगरपालिकाको सीमा क्षेत्रको भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने भएपछि बिरोध स्वरुप राज्यका बिभिन्न निकायलाई ज्ञापन दिन काठमाडौं पुगेका टोलीसँगको छलफलमा नेपालले आन्तरिक गृहकार्य गरी भारतसँग यो विषय उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
अन्तर्रा्ष्टिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टका अनुसार, सीमा क्षेत्रमा समस्या देखिएपछि गृह, परराष्ट, भूमि व्यवस्था तथा सम्बन्धित संसदीय समितिहरुमा ज्ञापन पत्र दिने क्रममा मन्त्री तथा सांसदहरुले नेपाली भूमि भारतमा गाभिने विषय गम्भीर भएकोले यस विषयमा आवश्यक प्रमाण र तयारी गरी भारतीय पक्षसँग गम्भीर रुपमा उठाउन सबै पक्ष सहमत देखिएका छन् । सीमा सरोकार समूहको प्रतिनिधि मण्डलले गृह मन्त्री राम बहादुर थापा, परराष्ट मन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, व्यवस्थापिका संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत, राज्य व्यवस्था तथा अन्तर्रा्ष्टिय सम्बन्ध समितिका सभापतिलाई ज्ञापन बुझाएको थियो ।
यसैगरी टोलीले नेकपा अध्यक्ष प्रचण्डसँग समेत भेट गरी विषयवस्तुबारे अवगत गराउँदै हाल प्रयोगमा आएको गलत नक्सा पुनरावलोकन गर्नुपर्ने, भारततर्फ जमिन बुझाउने षडयन्त्र गर्ने तत्कालिन नापी टोलीमाथि कार्वाही गर्नुपर्ने, भोगचलन तथा ऐतिहासिक जंगे पिलर लगायतका आधारमा नयाँ स्टिप नक्सा बनाउनु पर्ने र दुई किलोमिटरमा सीमा सुरक्षा पोष्ट स्थापना गर्नुपर्ने लगायतका माग राखेको छ । त्यसक्रममा नेकपा अध्यक्ष प्रचण्डले सीमा सुरक्षाका विषयमा जनताका तर्फबाट गहन रुपमा गरिएको प्रयासको सह्राहना गर्दै नेपाल र भारत बीचको सीमामा रहेका सबै समस्या समाधान गरेपछि मात्रै सीमाबारे अन्तिम सहमति पत्रमा हस्ताक्षर गर्ने नेपालको नीति रहेको बताए । उनले कञ्चनपुरको विषय समेत सुस्ता, महेशपुर, पशुपतिनगर र कालापानी, लिम्पियाधुरा जस्तै संवेदनशील रहेको बताउँदै यो विषयमा पार्टीले आवश्यक भूमिका खेल्ने जनाए ।
ज्ञापन पत्र पेश गर्ने क्रममा सरकारका मन्त्री तथा संसदीय समितिका सभापतिहरुले सरोकार समूहले उठाएको विषय निकै गम्भीर रहेको र यी विषयमा संवेदनशील बनेको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा थप सुरक्षा स्थापना गर्ने कुरा गर्दै आवश्यक निर्देशन दिने बताएको संयोजक भट्टको भनाइ छ । यसैगरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नापीका महानिर्देशकलाई समेत जवाफ माग गर्न लगाउँदै जनताको समस्यालाई हल गर्न मन्त्रालयले विशेष भूमिका निर्वाह गर्ने बताएकी छन् । यसैगरी परराष्ट मन्त्री प्रदीप ज्ञवालीले भारतसँग सीमांकनका लागि निश्चित आधार निर्माण गरेको बताउँदै तत्कालका लागि सीमांकन रोक्ने र विवादित क्षेत्रलाई वार्ताको समयमा एजेण्डाका रुपमा राख्ने आश्वासन दिएका छन् ।
सरोकार समूहका संयोजक पल्लव राज भट्टको नेतृत्वमा कञ्चनपुर जिल्लाका सांसदहरु निरु देवी पाल, डा. दीपक प्रकाश भट्ट, इन्दु कडरिया, बिना बुढाथोकी, नरबहादुर धामी, पूर्व मन्त्री भानुभक्त जोशी, पूर्व मन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, संविधान सभा सदस्य कृपा राम राना, नेकपा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज खगराज भट्ट, प्रदेश कमिटी सदस्य ओम बिक्रम भाट, आधिकारिक ट्रेड यूनियनका सचिव अम्बा दत्त भट्ट, बेलौरी नगरपालिकाका उप मेयर चित्र कुमारी चौधरी, वडाध्यक्षहरु साइटु कुमार चौधरी र कलबीर चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका ओम प्रकाश पन्त, गोकर्ण भट्ट, हरिश पन्त, रमेश भट्ट, अनन्त चन्द, आनन्द पन्त, नरेन्द्र बिहारी पन्त लगायतको सहभागितामा ज्ञापन पत्र बुझाइको थियो ।
नेकपा अध्यक्ष प्रचण्ड र भूमि व्यवस्था मन्त्रीलाई ज्ञापन पत्र दिने क्रममा प्रभावित क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर नं. १ बाट प्रतिनिधि सभा सदस्य तथा खानेपानी मन्त्री बिना मगरको समेत उपस्थिति रहेको थियो । यसअघिका ज्ञापन पत्र पेश गर्ने समयमा भने मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रको वेवास्ता गरेको र मेलम्ची भ्रमणमा गएको भन्दै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुमा व्यापक आलोचना भएको थियो । तत्कालिन समयमा आन्तरिक द्वन्द्वका कारण सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति समेत नरहेको अवस्थामा स्ट्रिप नक्शा तयार गर्न नेपालको तर्फबाट खटिएको तत्कालिन सीमा सर्भे टोलीले नेपाली सरोकार वालाहरुसंग कुनै सम्वन्ध नराखी सुरक्षाको कारण देखाउदै भारतीय पक्षको टोलीसंग भारततिरै बसेर काम गरेको सरोकार समूहले जनाएको छ ।
ज्ञापनपत्रमा भोग चलन तथा जग्गा धनी प्रमाण पुर्जा र मूल सीमा स्तम्भ (जंगे पिलर) लाई समेत बेवास्ता गर्दै, संयुक्त सीमा सर्भे टोलीले भारतले अतिक्रमण गरेको भुमी नेपालको देखिने गरी स्थापित सीमा (जंगे पिलर) पिल्लरहरुलाई साक्षी स्तम्भ (रिफ्रेन्स पिल्लर) र नेपाल तर्फ रहेका साक्षी स्तम्भ (रिफ्रेन्स पिलर) तथा सहायक पिल्लरलाई सीमाको मूल पिल्लर स्वीकार गर्दै तयार गरिएको स्ट्रिप नक्शा हाल कार्यान्वयन गर्न खोज्दा कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रको सयौं विगाहा जमिन भारत तर्फ गाभिने खतरा देखिएको समेत उल्लेख छ ।
यस अन्तर्गत बेल्डाँडी गाउँपालिकाको वडा नं. ३ बैवाहा, बेलौरी नगरपालिकाको वडा नं. ८ पचुई, बेलौरी नगरपालिकाको १ नं. र पुनर्वास नगरपालिकाको ४ नं. वडाको २०० र १९९ नम्बर पिल्लर, ९ नं को १९५ नम्बर पिल्लर सीमा स्तम्भ रहेको क्षेत्र, पुनर्वास नगरपालिकाको वडा नं. ९ मा रहेको प्याराताल क्षेत्र तथा भीमदत्त नगरपालिका वडा नंं १०, गड्डाचौकी देखि जिमुवा जाने सडकखण्ड र वडा नं. ९ ब्रम्हदेव बजारको मुक्त हलिया बस्तीको सयौँ विगाहा जमिन भारतमा गाभिने खतरा बढेकोले नेपाली भूमि जोगाउन राज्य तथा सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको संयोजक भट्टले जनाएका छन् ।