हरिश चन्द्र बाग, कञ्चनपुर, २६ फागुन । विश्वमा महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड –१९) को कारण नागरिकहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरको दक्षिणी क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाले सोमबार बेलौरीको बैशाखा भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सिअहेव मान बहादुर चन्दले जानकारी दिनुभयो । सोमबार बैशाखा भन्सार कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्क प्रत्येक दिन बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिने बताइएको छ ।
कोरोना भाईरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसंगको खुल्ला सिमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले बेलौरीको बैशाखा भन्सार नाकामा स्वास्थ्य परिक्षणका लागि बेलौरी नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट भारतमा आवतजावत गर्दा बैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । हेल्थ डेस्कको स्थापना गर्दै नगर प्रमुख चौधरीले कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या भएकोले यसको संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक रहेको औंल्याउनु भयो ।
यसअघि कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा कोरोना चेकजाँचका लागि भीमदत्त नगरपालिकाको हेल्थ डेस्क सञ्चालनमा ल्याइसकेको छ । यसका अतिरिक्त कञ्चनपुरका सबै स्थानीय तहहरुले सचेतना अभियान जारी राखेका छन् । कञ्चनपुरका अधिकांश स्थानीय तहहरुले बढी भिडभाड र जमघट हुने मेलामहोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न नगराउन सार्वजनिक रुपमा आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
यसैबीच, नेपाल रानाथारू समाज र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते गर्ने भनिएको रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी मिलन कार्यक्रम समेत स्थगित गरिएको नेपाल रानाथारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले जानकारी दिनुभयो । नेपाल सरकारले कोरोनाको संक्रमणबाट बच्न बढी भिडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न नगराउन निर्देशन दिएकोले रानाथारू समाजले पनि होरी मिलनका सबै कार्यक्रम स्थगित गरेको उहाँको भनाइ छ । त्यस्तै, अन्य विभिन्न संघसंस्था र स्थानीय तहहरूले पनि ठूला सभा समारोह स्थगित गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिने भएकोले यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव राज सुनारले जानकारी दिनुभयो । यस रोगबाट बच्नका लागि साथीभाइहरुसंग हात नमिलाउने, साबुन पानीले राम्ररी हात धुने, मुखमा मास्क प्रयोग गर्ने, श्वासप्रश्वासका बिरामीको नजिक नजाने, जनावरको सम्पर्कबाट टाढा रहने, अण्डा तथा मासु लगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न अपिल गरिएको छ ।