हरिश चन्द्र बाग, कञ्चनपुर । नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले अहिले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम गरिरहेको छ । यसैक्रममा अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारत संग जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहेको छ । यद्यपी विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा स्थानमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको छ । नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित बनेका छन् । यसै विषयमा शनिबार र आइतबार विभिन्न पक्षबाट स्थलगत अनुगमन गरिएको छ भने आइतबार नै बेलौरी नगरपालिकामा सरोकारवाला पक्षबीच बृहत् छलफल समेत गरिएको छ ।
सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका सीमा विवादहरुको अझै समाधान हुन सकेको छैन । यद्यपी थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ । यसैबीच, बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडकहुँदै पुरानो ३८ नम्बर सीमा स्तम्भ सम्मको भुभाग भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । भारतीय पक्षले बेलाबेलामा हुलाकी सडकखण्ड निर्माणको काममा समेत अवरोध सृजना गर्दै आएको छ । ईँटा उद्योगी हरि चन्द ठकुरीका अनुसार तत्कालिन ३८ नम्बर पिलरको आधार स्तम्भलाई नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा खटिएको सीमा सर्भे टोलीले सिमा स्तम्भ नै ठोकुवा गरेपछि विवाद झन चुलिएको हो । विगतमा सीमा स्तम्भ खोला पारी रहेको र त्यो सीमा स्तम्भ खोलाले पुरिएपछि यो आधार स्तम्भका नाममा सारिएको उहाँको दाबी छ ।
यस्तै, बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको लालपुर्जा नागरिकको हातमा छ र हालसम्म उक्त जमिन नेपाली नागरिकले भोगचलन गर्दै आएका पनि छन् । यद्यपी साविकको सीमा मानिएको क्षेत्र चौधर नदि भन्दा भित्र नेपाली भुमि (नहरसम्म) मा सीमा सर्भे टोलीले सीमा स्तम्भ निर्माण गर्न थालेपछि आफुहरुको दर्ता जग्गा भारतमा पार्न खोजेको भन्दै स्थानीय नागरिकले अबरोध सृजना गरेका छन् । स्थानीय नागरिकहरुले त सर्भे टोलीले भारतीय पक्षबाट ठूलो धनराशी घुस खाएर देशको भूमि बेच्ने षडयन्त्र गरेको सम्मका आरोप लगाउँदै आएका छन् । अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वासको प्याराताल देखि बेलडाँडीको झिलमिलासम्म ठाउँठाउँमा सीमा विवाद देखिन्छ । सोही समस्या समाधानका लागि सीमा सर्भे टोली खटाइएको भएपनि विवाद झन बढ्दै गएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक पल्लव राज भट्टले सीमा सर्भे टोलीले सीमाको नाप नक्सांकन गर्न कुन नक्साको प्रयोग गरिरहेको छ भन्ने विषयमा नागरिकलाई स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारका आधिकारिक नक्सा र गुगलको नक्सामा समेत नमिल्ने गरी र खोलानालालाई आधार मान्नुपर्ने कुनैबेलाको नीतिसंग समेत अहिलेको नापी टोलीले भन्ने गरेको सीमा स्थान मेल नखाएकोले यसको तथ्य र आधार प्रस्तुत गर्न माग गर्नुभयो । सोही क्रममा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले आफुहरु बाल्यकाल देखि नै सीमा क्षेत्रको बारेमा धेरथोर जानकार रहेकोले भारतीय पक्षबाट नेपालको भूमि कब्जा गर्ने कार्य निरन्तर भइरहेकोले यस्ता गतिविधि रोक्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल भारतको संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा सीमा सर्भे टोलीले कैलाली, कञ्चनपुर सहित पश्चिममा भारतसंग जोडिएका क्षेत्रमा सर्बेक्षण गरिरहेको छ । तर उक्त टोलीले नेपाल भारत सीमामा दशगजा क्षेत्रको न्यायोचित सिमाङ्कन र रेखाङ्कन गरी जनताको चित्त बुझाउने तथ्य र आधार प्रष्ट पार्न नसक्दा स्थानीय सशंकित भएका छन् । यद्यपी उक्त सर्भे टोली भने आफुहरुले गरिरहेको कार्य शत प्रतिशत सही भएको दाबी गर्दै आएको छ । टोली प्रमुख धामीले आफुहरुले देशको अहितमा हुने कुनै पनि गतिविधि नगरेको जिकिर गर्दै यदि त्यसको कुनैपनि प्रमाण देखिए आफुहरुलाई जस्तोसुकै कारबाही गरेपनि व्यहोर्न तयार रहेको उल्लेख गर्नुभयो ।
यस्तै, पुर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले नापीका कर्मचारीहरुले सरकारको निर्देशन अनुसार काम गर्ने हुँदा सर्भे टोलीका कर्मचारीले सीमा स्तम्भको आधार र तथ्य दिन नसके त्यसको जिम्मेवारी सरकारमा रहेका व्यक्तिको र पार्टीको भएकोले अहिले सत्तामा रहेका पार्टीका जनप्रतिनिधिहरुले अग्रसरता देखाउनु पर्ने सुझाव दिनुभयो । यस विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले समस्याको समाधानका लागि सम्बन्धित क्षेत्रमै पुगेर समस्या पहिचान गर्ने गरी आफु केन्द्रित रहेको बताउनु भएको छ । उहाँले वास्तविक समस्यालाई टिपोट गरेर दुई देशका अधिकारीहरु बीचको बैठकमा पेश गर्ने र छिट्टै समाधान खोज्ने आश्वासन समेत दिनुभयो ।
सोही छलफलका क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीले आफुले यस विषयमा प्रदेश सभामा कुरा उठाउने र प्रदेश सरकारलाई समेत जानकारी गराउने बताउनु भयो । त्यस्तै, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले राष्ट्रियताका सवालमा सबै एक हुनु पर्ने बताउनु भएको छ । नगर प्रमुख चौधरीले भारतसंग खुला सीमा जोडिएका क्षेत्रमा बेलाबेलामा विवाद आउने गरेको र भारतीय पक्षले नेपालको सिमा क्षेत्रमा कब्जा जमाउन खोजिरहेकोले तत्काल यसको समाधान गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकार प्रमुखका हैसियतले आफुले यस विषयमा बिगत देखि हालसम्म राज्य संग पहल गरिरहेको र अझै पहल कदमी जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।