सर्वपक्षीय मागका आधारमा कञ्चनपुरको बेलौरी नगरपालिकाले २०७५ फागुनमा बेलौरी कलुवापुर राजमार्गको मैनाहा शान्तिपुर बेलौरी बजार प्रेमनगर, भुराकोट, बैशाखा बेलौरी भन्सार भएर नेपाल भारत सिमास्तम्भ पुर्वी देशान्तर 80021', उत्तरी अक्षांश 28o39' स्थित BP No. 208 (774) देखि झण्डै २०० मिटर पश्चिम भारत तर्फको २७ किलोमिटर लामो खजुरीया पुरनपुर राजमार्गको आरम्भ बिन्दु संग मिलान हुने गरी साढे ६ किलोमिटर लामो सडकखण्ड नक्शानुसार सिमाङ्कन गरी संकेतका रुपमा पोलिङ समेत गर्दा ठाउँठाउँमा सडक जग्गा अतिक्रमित भएको अवस्था प्रकाशमा आयो । सघन वस्ती प्रस्तावित नाका भन्सार र प्रस्तावित नमुना शहर पुर्वधार दिगो विकासार्थ सडक सञ्जालको लागि मेरुदण्ड मानिएको उक्त सडकको आधुनिक मोडेलमा डी.पी.आर. निमार्ण गरी नमुना सडक बनाउने राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, चेतनशील वर्ग र समुदाय सबैको इच्छा आकांक्षा र आशाभरोसा हो ।
उक्त सडक जग्गामा भुलबस केही व्यक्ति, संस्था वा कार्यालयले संरचना बनाएर वा अन्नबाली साग तरकारी उखु फलफुल आदीको खेती गरेका भए खाली गरी सडक स्तरोन्नत गर्ने कार्यमा सहयोग गर्न आह्वान गर्दै बेलौरी नगरपालिकाले २०७६ पुस ११ गते ३५ दिने सुचना प्रकाशित गर्दा खैलाबैला मच्चियो । सूचनाको पालना गर्दै इलाका प्रहरी कार्यालय बेलौरीले विगतमा भुलबस सडक जग्गामा निर्माण भएका प्रवेशद्वार सन्तरी पोष्ट बैठक बस्ने गोलघर जस्ता संरचना बाहिर छोडी आफ्नै स्वामित्वको परीसरमा घेरा पर्खाल लगाएर सडक जग्गा खाली गरेको छ । इलाका प्रहरी कार्यालयको उक्त कार्यले भुलबस सडक जग्गा कब्जा गरेका जो कोहीले पनि तुरुन्त खाली गर्ने सन्देश दिएको छ । सडक जग्गामा अन्नबाली तथा उखुखेती, फलफूल खेती गरेर सडक जग्गा कब्जा गरिराखेको नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग, कैलाली भन्सार कार्यालय मातहत संचालनमा रहेको बेलौरी छोटी भन्सारमा सेवारत कर्मचारीहरु सडक जग्गा तुरुन्तै खाली गर्ने की स्थानीय सरकार (बेलौरी नगरपालिका) को सूचना आदेश भन्दा माथिल्लो आफ्नै सरोकारवाला कार्यालय कैलाली भन्सार तथा भन्सार विभागको आदेश पर्खने भनी द्विविधा युक्त तनावमा परेका छन् ।
यसैगरी श्री दुर्गा आधारभूत विद्यालय भुराकोटले पनि विगतमा भुलबस सडकजग्गामा निर्माण गरेको प्रवेशद्वार र तारबाड तुरुन्तै हटाउने की सडक जग्गा पुरैमा सडक र सडक सित जोडिएका अन्य संरचना समेतको निर्माण कार्य सरोकारवाला कार्यालयले अगाडी बढाएको बेला खाली गर्ने भन्ने विषयले विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारमा द्विविधा भै एक किसिमको तनाव बढेको छ । त्यस्तै, अर्को समुदायिक विद्यालय श्री शान्ती माध्यमिक विद्यालयमा उस्तै समस्या बनेको छ । विगतमा भुलवस सडक जग्गामा बनेको विद्यालय घेरा पर्खाल अहिले नै भत्काउने कीे सडक निर्माण कार्यलाई बाधा पुगेका बेला खाली गर्ने भनी द्विविधा र अन्यौल उत्पन्न भएको छ । यसै बीच बेलौरी नगरपलिकाले पुस ११ गतेका दिन प्रकाशित गरेको ३५ दिने सुचना र त्यसको ४८ दिन पछि माघ २९ गते १५ दिने सुचना जारी गर्दा उक्त भन्सार कार्यालय र उक्त दुवै सामुदायिक विद्यालय सडक जग्गा छोड्ने की नछोड्ने भनि द्विविधापूर्ण सकसमा परेका छन् ।
उक्त साढे ६ किलोमिटर सडकखण्डको नक्शाङ्कित पुरै जग्गा उपयोगमा आउने गरी दिगो विकासको अवधारणा अनुरुप खानेपानी वितरणका पाइप लाइन, ढल निकास, फुट पाथ, बिजुली, टेलिफोनका लाइन, साइकल लेन, सडक लेन, डिभाइडर, क्रस जेक्सन आदि व्यवस्थित सडक सित संलग्न संरचना समेतको आधुनिक मोडेलमा डी.पी.आर. बनाई योजनाबद्ध ढंगले सडक निर्माण होस् भन्ने यस क्षेत्रमा क्रियाशील राजनैतिक दल, जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, सरोकारवाला सबैको चाहना र प्रयत्न भएको अवस्थामा विषयको संवेदनशीलतालाई ध्यानमा राखी सड्क जग्गा खाली गर्ने की नगर्ने, अहिले गर्ने की पछि गर्ने भन्ने द्विविधा र अन्न्यौलताका कारण सकसमा परेका बेलौरी भन्सार, दुर्गा आधारभूत विद्यालय र शान्ति मावि गरी तीनै संस्था गम्भीरता पूर्वक मन्थन गरी चाँडै उपयुक्त निर्णयमा पुग्ने छन् भन्ने सार्वजनिक अपेक्षाको विषय छ । केही जनप्रतिनिधिहरुको उदासिनता र ढिलासुस्ती पनि सडक विकास र स्तरोन्नत कार्यमा तगारो बनेको चिन्ता, चाँसो र चुनौतीका रुपमा लिने अवस्था बनेको छ ।
पंक्तिकार केशव राज जोशी तत्कालीन महाकाली उच्च मावि बेलौरीका पुर्व प्राचार्य हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६