हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को बेलौरी नगरपालिकाद्वारा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । 'जनतासँग माओवादी' अभियानअन्तर्गत आयोजित विशेष कार्यक्रममा सहभागिता जनाउन कञ्चनपुर पुग्नु भएका अध्यक्ष प्रचण्डको स्वागत बेलौरी नगरपालिकाको सभा हलमा गरिएको हो । बुधबार बिहानैदेखि विविध कार्यक्रमहरू आयोजना गरिएको जनाइएको छ । बिहानै प्रचण्ड नेतृत्वमा नेता तथा कार्यकर्ताहरूले पुनर्वास क्षेत्रमा सामूहिक पैदल यात्रा (मर्निङ वाक) गरेपछि पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको प्रचण्ड सचिवालयले जनाएको छ । बिहान ९ बजे रामनगर खानेपानी आयोजना उद्घाटनपछि शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण तथा अवलोकन गरिएको थियो ।

त्यसपछि १०:१५ बजेबाट बेलौरी नगरपालिकाको सभा हलमा आयोजना गरिएको विशेष स्वागत तथा अभिनन्दन कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियोे भने नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी क्षेत्रका विभिन्न समस्या र आवश्यकतालाई समेटेर तयार गरिएको १५ सूत्रीय ज्ञापन पत्र वाचन तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ ।

त्यस क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थानीय मुद्दाहरूमा विशेष जोड दिनुभएको छ । उहाँले कञ्चनपुर जिल्लाको विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार निर्माण, भन्सार, शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, खानेपानी, रोजगारी, कृषि, उद्योग, पर्यटन, र सीमा सुरक्षाका विषयहरूमा प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । उहाँले स्थानीय जनताको सहभागिता र सुझावलाई प्राथमिकता दिँदै विकास योजनाहरू जनताको आवश्यकता अनुसार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै, स्थानीय तहमा विकास योजनाहरूको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले बल दिनुभएको छ ।

उक्त कार्यक्रम पश्चात् अध्यक्ष प्रचण्ड सहितको टोलीले महाकाली बहुमुखी क्याम्पस, कलकत्ता हाटबजार क्षेत्रको अवलोकन तथा बेलडाँडीमा कोणसभामा समेत सहभागिता जनाउँदै छ । त्यस लगत्तै आजै अपराह्न महेन्द्रनगरस्थित संविधान चोकमा पुगेर हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’को समापन गर्ने कार्यक्रम रहेको छ । झापाबाट गत फागुन १२ गते सुरु गरिएको उक्त अभियान आज कञ्चनपुरमा औपचारिक रूपमा समापन गर्न लागिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।