कञ्चनपुर, १० वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको १९औँ नगर सभाबाट नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार आयोजित नगर सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि “उन्नत कृषि, गुणस्तरीय शिक्षा, स्वस्थ नगर, दिगो विकासका पूर्वाधार : व्यवस्थित, आत्मनिर्भर र समृद्ध शुक्लाफाँटाको आधार” भन्ने मूल नारासहितको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख महराले सभामा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार, स्वच्छता, रोजगारी, प्रशासनिक सुधार लगायतका बहु आयामिक कार्यक्रमहरू समेटिएका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
नीति तथा कार्यक्रममा छलफलका क्रममा वडा नं. ५ का सदस्य जयराज पाण्डेयले सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्यापन गराउने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो । सार्वजनिक जग्गाको संरक्षणमार्फत युवालाई रोजगारी दिन सकिने उहाँको भनाइ छ । कार्यपालिका सदस्य मनि दत्त पन्तले बजार मूल्य स्थिरता र सुशासनमा ध्यान दिनु पर्ने सुझाव दिनुभयो भने अर्का सदस्य सन्तोला कामीले दलित समुदायको हितमा लक्षित कार्यक्रम समावेश गर्न आग्रह गर्नुभयो । यस्तै, सदस्य लालसिंह महराले अघिल्लो वर्षका कार्यक्रमको सम्यक् मूल्याङ्कन नभएको गुनासो गर्दै कर्मचारी प्रोत्साहन भत्ता र सुविधा सम्बन्धी विषयमा छलफल हुनुपर्ने धारणा राख्नुभयो ।
वडा नं. १ का अध्यक्ष उत्तर देव भट्टले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउँदै शुक्लाफाँटाले जिल्लामा उदाहरणीय कार्यहरू गरिरहेको दाबी गर्नुभयो । वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीले मातृभाषामा आधारित शिक्षा कार्यक्रम, बडघर र भल्मन्सा कार्यक्रमलाई नीतिमा समेट्नुपर्ने धारणा राख्नुभयो । वडा नं. ८ का अध्यक्ष बहादुर सिंह महराले निजी विद्यालयहरूको अनुगमन र नियमन जरुरी भएको भन्दै शिक्षाको व्यापारीकरण अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । वडा नं. ९ का अध्यक्ष रमेश ऐरले शिक्षा र सडक निर्माणमा नगरपालिका सफल रहेको जानकारी गराउनु भयो । नगर सभामा सहभागी अधिकांश सदस्यहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नु भएको छ ।
शुक्लाफाँटा नगरपालिकाकी नगर उपप्रमुख कल्पना पन्तले राजस्व सङ्कलनमा सुधार ल्याउन विज्ञमार्फत कार्य गर्नुपर्ने बताउँदै नयाँ नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको अन्त्यमा नगर प्रमुख महराले प्राप्त सुझावहरूप्रति आभार व्यक्त गर्दै शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका आयोजना, फोहर व्यवस्थापन केन्द्र, राजस्व वृद्धि, शिक्षा सुधार र तथ्याङ्क सङ्कलनमा विशेष काम अघि बढाएको जानकारी दिनुभयो । एसियाली विकास बैङ्कको सहकार्यमा सडक निर्माण पनि तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिँदै आगामी वर्षलाई “तथ्याङ्क वर्ष” को रूपमा मनाइने घोषणा गर्नुभयो ।