धर्मराज कठायत, कञ्चनपुर, २५ चैत्र । नेपालको शिक्षा प्रणालीमा प्रविधिको समावेशीकरण गर्ने उद्देश्यका साथ नोट स्विफ्ट प्रा.लि. ले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम आयोजना गरेको छ । ‘For the Future of Education in Nepal’ भन्ने मूल नारासहित आयोजना गरिएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड सुदूरपश्चिम शाखाका प्रतिनिधि रामदत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक परमानन्द नाथ तथा नोट स्विफ्ट प्रा.लि. का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेय लगायतका विद्वत् व्यक्तिहरू वक्ताका रूपमा सहभागी थिए ।

कार्यक्रमको सहजीकरण नोट स्विफ्ट प्रा.लि. का सिओओ विशाल भट्टले गरेका थिए । कार्यक्रममा ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै प्रविधिमैत्री समाधानहरूबारे गहन छलफल गरिएको थियो । वक्ताहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउन सकिने विषयमा आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
विशेषतः नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको सहायताले कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीय छलफल भएको थियो । नोट स्विफ्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयले कार्यक्रममा बोल्दै भन्नुभयो, “ग्रामीण नेपालमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु हाम्रो मुख्य उद्देश्य हो । यसका लागि एड–टेक समाधानहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्छ ।”

कार्यक्रमबाट प्राप्त सिफारिस, निष्कर्ष र छलफलहरू समेटिएको विस्तृत प्रतिवेदन चाँडै नीति निर्माताहरू समक्ष पेस गरिने तथा डिजिटल शिक्षाको प्रवर्द्धनका लागि कार्य योजनाहरू निर्माण गरिने जानकारी आयोजक संस्थाले दिएको छ । नोट स्विफ्ट प्रा.लि. ले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता र प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यस कार्यक्रमलाई डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले देशभरका सरोकारवालाहरूलाई जोड्न सफल हुने आयोजक पक्षको विश्वास छ ।