हरिश्चन्द्र बाग, देहरादुन, भारत । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भारत-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव-२०२५ उत्तराखण्डको राजधानी देहरादुनमा सुरु भएको छ । मार्च २१ देखि २७ (चैत्र ८-१४) सम्म चल्ने यस मेलाले नेपाल-भारत व्यापार, पर्यटन, संस्कृति तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य संघले समान रूपमा डेढ-डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन गरेको यस मेलामा नेपाल र भारतका एक सयभन्दा बढी व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू राखिएका छन् । नेपाली हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनहरू, परम्परागत कपडा, कृषि उत्पादन तथा स्थानीय परिकारहरू मेलाको प्रमुख आकर्षण बनेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीका अनुसार यो मेला नेपाल-भारत व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक अवसर हो । "दुवै देशका व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्न पाएका छन्, जसले आगामी दिनमा व्यापार विस्तार गर्न ठूलो भूमिका खेल्नेछ," उहाँले भन्नुभयो । मेलामा भारतीय उत्पादनहरू पनि प्रदर्शनमा राखिएका छन्, जसले भारतीय ग्राहकहरूलाई नेपाली उत्पादनहरूप्रति आकर्षित गराएको छ । नेपाली मूलका भारतीय नागरिकहरूले पनि मेलामा विशेष चासो देखाएका छन् । मेलाको उद्घाटन समारोह उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालका तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित प्रदेश सभा सदस्यहरू, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल सहित कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री धामीले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । "नेपाल र भारतको सम्बन्ध केवल छिमेकी मात्र होइन, यो रगत र संस्कृतिले जोडिएको सम्बन्ध हो । यस्ता मेलाले दुवै देशका व्यवसायीहरूलाई एकअर्कासँग घुलमिल हुने अवसर दिन्छ," उहाँले भन्नुभयो । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले नेपाल र भारतको सम्बन्ध धार्मिक, सांस्कृतिक, ऐतिहासिक, सामरिक र पारस्परिक रहेकोले यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताउनु भयो । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नेपालका साना तथा मझौला उद्यमीहरूलाई भारतीय बजारमा पहुँच विस्तार गर्न यस्तो मेला उपयोगी हुने धारणा राख्नुभयो । "नेपालका उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने माध्यम यस्ता व्यापारिक मेलाहरू नै हुन् । भारतसँगको व्यापार प्रवर्द्धनका लागि उद्योग वाणिज्य महासंघ प्रतिबद्ध छ," मल्लले भन्नुभयो ।
व्यापारिक गतिविधिसँगै मेलाले नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिँदै छन्, जसले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई झल्काउँछ । उद्घाटन समारोहमा नेपाली र भारतीय लोक नृत्य, भजन तथा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिए, जसले उपस्थित दर्शकहरूलाई मोहित बनायो । व्यापारिक, पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त मेला नेपाल-भारत साझेदारीको महत्वपूर्ण मञ्च बनेको छ । आयोजकहरूका अनुसार मेलाले दुवै देशका व्यवसायीहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ ।