हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ चैत्र । हावाहुरीले कुनै गाउँ बस्तीको बिचमा रूख ढलेमा त्यसलाई व्यवस्थापन गर्न कति समय लाग्ला ? मानवीय चहलपहलका आधारमा तत्कालै, केही घण्टामै, बढीमा एक दिन, दुई दिन वा तीन दिन नै मानौँ । तर कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित श्री रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रवेशद्वार नजिकै ढलेर अर्को रूखमा अड्किएको ठूलो सालको रूख हटाउन छ महिनाभन्दा बढी समय लागेको छ । यदि उक्त सालको रूख अर्को रूखमा नअड्किएको भए क्याम्पसको प्रवेशद्वार, घेर पर्खाल र भवनमा ठूलो क्षति पुग्ने थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले क्याम्पस प्रशासन, बेलडाँडी गाउँपालिका लगायतका निकायले पटक–पटक अनुरोध गरे पनि निकुञ्जबाट रूख हटाउन कुनै चासो दिइएको थिएन ।

जुनसुकै बेला पनि अड्किएको रूख खसेर ठूलो दुर्घटना हुने जोखिम कायम नै थियो । चौतर्फी दबाबपछि अन्ततः निकुञ्जका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रशासन, सुरक्षाकर्मी, पत्रकार, विद्युत् प्राधिकरणका कर्मचारी, व्यवसायी र स्थानीय नागरिकहरूको उपस्थितिमा आइतबार साँझ उक्त अड्किएको रूख व्यवस्थित ढङ्गले काटेर ढालिएको छ । आज सोमबार उक्त रूखको नाप जाँच गरी आवश्यक व्यवस्थापन गरिने बताइएको छ । उक्त काठ भने निकुञ्जले नै जिम्मा लिने छ ।

रूख व्यवस्थापनका लागि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले नेतृत्व गर्नुभएको थियो । रूख काट्ने कार्यमा तत्काल रु. २५ हजार खर्च भएको र उक्त रकम क्याम्पसले बेहोर्ने भद्र सहमति भएको छ । साथै उक्त रूखको काठ क्याम्पसमा निर्माणाधीन भवनका झ्याल, ढोका तथा फर्निचरका लागि उपयोग गर्न निकुञ्जसँग माग गरिएको क्याम्पस प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो । इन्धन खर्च भने गाउँपालिकाले व्यवस्थापन गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले बताउनुभयो । छ महिनासम्म जोखिमपूर्ण अवस्थामा रहेको रूख अन्ततः हटाइएपछि क्याम्पस परिवार, स्थानीय व्यवसायी, उक्त सडकमा ओहोरदोहोर गर्ने व्यक्तिहरू तथा स्थानीय बासिन्दाहरू भयमुक्त भएका छन् ।
