नेपाल लगायत विभिन्न हिन्दु समुदायमा मनाइने महत्त्वपूर्ण पर्वहरूमध्ये होली विशेष स्थान राख्छ । फागु पूर्णिमाका अवसरमा मनाइने यस पर्वलाई रङ, उमङ्ग र आपसी मेलमिलापको चाडका रूपमा लिइन्छ । सद्भाव, प्रेम र हर्षोल्लासको प्रतीक मानिने होलीले व्यक्तिगत तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने भूमिका खेल्छ ।
धार्मिक र ऐतिहासिक पृष्ठभूमि
होली पर्वको धार्मिक महत्त्व पुराणहरूमा वर्णित प्रह्लाद, हिरण्य कश्यप र होलिकासँग जोडिन्छ । हिरण्य कश्यपले आफ्ना पुत्र प्रह्लादलाई भगवान् विष्णुको भक्ति गर्नबाट रोक्न खोज्दा असफल भएपछि आफ्नी बहिनी होलिकामार्फत आगोमा जलाएर उनलाई मार्न खोज्यो । तर, विष्णुभक्त प्रह्लाद सुरक्षित रहे भने होलिका आफैँ आगोमा जलेर नष्ट भइन् । सत्यको विजय र अधर्मको पतनको सन्देश बोकेको यस घटनालाई स्मरण गर्दै होली मनाइन्छ ।
सांस्कृतिक र सामाजिक महत्त्व
होली केवल धार्मिक पक्षमा मात्र सीमित छैन; यस पर्वले सांस्कृतिक एवं सामाजिक रूपमा पनि ठूलो महत्त्व राख्छ । रङ्गहरूको प्रयोगले हर्षोल्लास अभिव्यक्त गर्ने परम्परा रहिआएको छ । समाजमा आपसी मनमुटाब हटाउँदै सबैलाई एकताको सूत्रमा बाँध्ने अवसरका रूपमा पनि यो पर्व लोकप्रिय छ । होलीको अवसरमा विशेष खाद्य परिकारहरू तयार गरिन्छन् । गुजिया, मालपुवा, सेल रोटी, भाङ मिश्रित पेय पदार्थ आदि परिकारहरूले उत्सवको रौनक बढाउँछन् । गाउँ तथा सहरका गल्लीहरू अबिर र विभिन्न रङहरूले भरिन्छन् ।
समाजमा होलीको प्रभाव
होलीले जात, धर्म, वर्ग र उमेरको भेदभाव तोड्दै मानिसहरूलाई आपसी प्रेम र मित्रताको सूत्रमा बाँध्ने कार्य गर्छ । तर, पछिल्लो समय होलीको नाममा जबरजस्ती र अमर्यादित क्रियाकलाप गर्ने प्रवृत्ति बढ्दै गएका छन् । मदिरा सेवन, अवाञ्छित व्यवहार तथा जलस्रोतको असीमित दुरुपयोग जस्ता विषयले होलीको मूल उद्देश्यलाई नै प्रभावित गर्ने खतरा बढाएको छ । यस कारण, होली पर्वलाई सभ्य, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनु हाम्रो कर्तव्य हो ।
होली केवल रङ्गहरूको उत्सव मात्र नभई प्रेम, एकता र मेलमिलापको पर्व पनि हो । यसले व्यक्तिगत खुसी मात्र नभई समाजमा समग्र सद्भाव र सहिष्णुता बढाउने महत्त्वपूर्ण भूमिका खेल्छ । यो पर्वलाई मौलिक परम्परा र सांस्कृतिक मूल्यमान्यताका साथ मनाउनु आवश्यक छ ।
यस वर्षको होलीले सबैलाई खुसी, शान्ति र भाइचारा प्रदान गरोस् ! शुभकामना !!!!