हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ फागुन । नेपाली सेनाको श्री नं. २५ वाहिनी अड्डाको आयोजनामा कञ्चनपुरको लालझाडीमा सञ्चालित वृहत् स्वास्थ्य शिविरबाट ८३४ नागरिक लाभान्वित हुनु भएको छ । शनिबार अबेर साँझसम्म सञ्चालन भएको शिविरमा ५१६ जना महिला र ३१८ जना पुरुषले विभिन्न स्वास्थ्य परामर्श तथा उपचार सेवा प्राप्त गर्नु भएको हो । श्री नं. २५ वाहिनी अड्डा अन्तर्गत श्री रुद्रध्वज गण र श्री श्रीदल गुल्मको संयोजकत्वमा तथा लालझाडी गाउँपालिकाको समन्वयमा आयोजित स्वास्थ्य शिविर श्री भानु माध्यमिक विद्यालय लालझाडी-२ कञ्जमा सम्पन्न भएको थियो ।

स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नु भएको थियो । शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक-कान-घाँटी, बाल रोग, छाला रोग, दन्त उपचार, फिजियोथेरापी तथा भिडियो एक्स-रे सेवा उपलब्ध गराइएको थियो । चिकित्सकहरूले सिफारिस गरेका औषधिहरू निःशुल्क वितरण गरिएको नेपाली सेनाको श्री नं. २५ वाहिनीका वाहिनीपति माधव थापाले जानकारी दिनुभयो ।

शिविरमा विशेष आवश्यकताका व्यक्तिहरूलाई ७ थान ह्विलचियर, ४ थान बैसाखी, १२ थान हेरिङ्ग एड, ५ थान डस्ना तथा म्याट्रेस वितरण गरिएको छ । यसका अतिरिक्त स्थानीय विद्यालयहरूलाई १३ थान स्यानेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरिनुका साथै श्री भानु उच्च माध्यमिक विद्यालयलाई स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य शिविरलाई सफल बनाउन सहयोग गरेकोमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, क्लिनिक नेपाल मेघौली चितवन, व्युटिफुल माइन्ड फाउन्डेसन चितवन, पेन्मेट इन्डस्ट्रिज ललितपुर, एकर्ड फार्मास्युटिकल्स ललितपुर, डार्क फन्ट्यासी धनगढी र सरस्वती पुस्तक भण्डार लगायतका सङ्घसंस्थालाई प्रमुख अतिथि सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी प्रकाश देउजाले सम्मान पत्र प्रदान गर्नु भएको छ ।

स्वास्थ्य शिविरका साथै सोही कार्यक्रम अन्तर्गत सैनिक प्रदर्शनी, लागु औषध दुर्व्यसन रोकथामबारे जनचेतना, वातावरण संरक्षणसम्बन्धी सचेतना, सांस्कृतिक कार्यक्रम, मन्दिर सरसफाइ, सर्प दंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि गरिएका छन् । यही फागुन २६ गते श्री बैजनाथ आधारभूत विद्यालयमा स्टेसनरी र खेलकुद सामग्री वितरण गरिने कार्यक्रम रहेको सेनानी आकाश बस्नेतले जानकारी दिनुभयो । नेपाली सेनाले विपद् व्यवस्थापन, सामाजिक कार्य तथा भौतिक पूर्वाधार निर्माणमा समेत योगदान दिँदै आएको छ । सेनाले नागरिकसँग सहकार्य अभिवृद्धि गर्न विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै आएको बताइएको छ ।
