हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलडाँडी र शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीको पनि सहकार्य रहेको बताइएको छ ।

महिला अधिकार, समानता तथा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथको अध्यक्षता तथा प्रदेश नीति तथा योजना आयोग, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष डा. जीवन रानाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमका वक्ताहरूले महिलाहरूको हक, अधिकार तथा सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा समान अवसरको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश नीति तथा योजना आयोग, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष डा. जीवन रानाले महिलाहरूको समान सहभागिता र अधिकार सुनिश्चित नगरी समाज समृद्ध हुन नसक्ने भन्दै सरकारी नीति तथा योजनामा महिला सशक्तीकरणलाई अझ प्रभावकारी बनाउन कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले महिलाहरूको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका लागि स्थानीय सरकार, समुदाय र संघसंस्थाबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । समानतामूलक समाज निर्माणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमको समापनका क्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथले महिला सशक्तीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि, आर्थिक अवसरको सिर्जना तथा शिक्षामा समान पहुँचका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाउने उहाँको भनाइ छ । अन्य वक्ताहरूले महिलाहरूको सुरक्षा, समान अवसर र आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न आवश्यक पहलहरूबारे आफ्ना विचार राख्नुभएको थियोे । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको उपाध्यक्ष शान्ती नाथले जानकारी दिनुभएको छ ।