हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा फागुन १२ गतेदेखि सञ्चालनमा आएको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आज एक विशेष समारोहका बीच समापन गरिएको छ । "कृषि, उत्पादन र स्वरोजगार; आर्थिक समृद्धिको आधार" भन्ने मूल नाराका साथ १० दिनसम्म सञ्चालित महोत्सवले स्थानीय तथा राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास तथा सांस्कृतिक पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघको दाबी छ ।

महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, लघु उद्योग प्रवर्द्धन, तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य पूरा गर्न सफल भएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लको भनाइ छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले महोत्सवले स्थानीय उद्यमशीलतालाई प्रवर्द्धन गर्न तथा पर्यटन तथा आर्थिक गतिविधिलाई अघि बढाउन महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रमहरू तथा कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य सेवा, गार्मेन्ट, हस्तकला, लघु तथा घरेलु उद्योगका स्टलहरू राखिएका थिए । महोत्सव अवधिभर उल्लेखनीय व्यापारिक गतिविधि हुनुका साथै थारु समुदायको परिकार विशेष आकर्षणको केन्द्र बनेको थियो । आयोजकका अनुसार, महोत्सव अवधिमा लाखौँको कारोबार भएको अनुमान गरिएको छ । यससम्बन्धी विस्तृत विवरण केही दिनपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । स्थानीय उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पारेको बताइएको छ ।
