डडेलधुरा । दुई दशकदेखि पत्रकारिता गर्दै आइरहेका पत्रकार वरुण पनेरुले डडेलधुराका तीन वटा विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । आफ्ना पुर्खाहरू एवं बुवाले अध्ययन, अध्यापन गरेका तीन वटा सामुदायिक विद्यालयमा उनले छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । सामुदायिक विद्यालयमा अध्ययनरत निम्न वर्गका जेहेन्दार विद्यार्थीहरूलाई पोसाक तथा कापीकलम खरिद गर्न छात्रवृत्ति कोषको स्थापना गरेको उनले बताए ।
आफूले आम्दानी गरेको रकमको १० प्रतिशत छुट्टाई विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेको उनले बताए । हालसम्म उनले भागेश्वर गाउँपालिका २ रुपालमा रहेको असिग्राम मावि र भागेश्वर गाउँपालिका ३ बोगटाको सरस्वती नमुना माविमा २५/२५ हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका छन् । यी दुई विद्यालयमा उनका पुर्खा बाजे, बुवाहरूले अध्ययन गरेका थिए ।
उनले पढेको एवं उनका बुवाले अध्यापन गरेको परशुराम नगरपालिका-६ स्थितको सिद्धनाथ माविमा एक लाख रकमको छात्रवृत्ति कोष स्थापना गर्ने उनले बताए । सिद्धनाथ माविको आइतबार हुने स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा हाल ५० हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न लागेको उनले बताए ।
उनले आफ्ना स्व. बुवा कृष्णप्रसाद पनेरुका नामबाट स्व. कृष्णप्रसाद अध्ययन छात्रवृत्ति कोष स्थापना गरेका हुन् । उनका बुवा सिद्धनाथ माविको प्रधानाध्यापक रहेको समयमा २०५३ मङ्सिर ९ गते सडक दुर्घटनामा परि निधन भएको थियो । विद्यालयको कामका लागि जिल्ला सदरमुकाम डडेलधुरा जाँदै गरेका उनका बुवाको भीमदत्त राजमार्गको गैरा बजार नजिक बस दुर्घटना हुँदा निधन भएको थियो ।
पत्रकार पनेरुले २०६१ सालदेखि पत्रकारिता सुरु गरेका थिए । उनले तत्कालीन फारवेष्ट दैनिक नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । त्यस यता निरन्तर सक्रिय पत्रकारिता गरिरहेका पनेरु नेपाल टेलिभिजन, एभिन्यूज, नागरिक दैनिक हुँदै १० वर्ष यता कान्तिपुर टेलिभिजनमा डडेलधुराबाट पत्रकारिता गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति कोषाध्यक्ष समेत रहेका पत्रकार पनेरुले पत्रकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका छन् । उनी डडेलधुरा जेसिज वर्ष २०२० का अध्यक्षसमेत रहेका छन् ।